अदालभित्रै सेटिङ गरेर पुल्चोकको ‘४-४’ रोपनी जग्गामा चौधरी ग्रुपको रजाइँ

१५ चैत्र २०८०, बिहीबार १८:०२

काठमाडौं । न्यायालय समेतसँग सेटिङ गरेर चौधरी ग्रुपले ललितपुरको मुटु क्षेत्र पुल्चोकमा रहेको चार रोपनी चार आना एक पैसा पर्ति जग्गा आफ्नो नाममा दर्ता गरेको रहस्य खुलेको छ । बाँसबारी छालाजुत्ता कारखानाको पर्ति जग्गा समेत हत्याएको चौधरी ग्रुपले बालुवाटार जग्गा काण्ड जस्तै २०२१ सालको नापी अनुसार ४३ नम्बर नम्बर कित्तामा रहेको ञवाल देवाली गुठीसहितको भोगचलनमा रहेको पुल्चोकस्थित ४ रोपनी ४ आना १ पैसा पर्ति जग्गा लामो सेटिङपछि २०६९ सालमा आएर सर्वोच्च अदालतको फैसला देखाउँदै विनोदका भाइ अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा दर्ता गरी लालपुर्जा जारी गरेको रहस्य खुलेको हो ।

मालपोत कार्यालय ललितपुरको श्रेस्तामा कित्ता नम्ब ४३ को जग्गा सरकारी एवं पर्ति हो । तर, त्यसयता, हिमालयन इन्टरप्राइजेजको नाममा दर्ता गरी चौधरी ग्रुपले आफ्नो बनाएको छ । जुन जग्गा दुई पटक गरेर हिमालय इन्टरप्राइजेजको नाममा दर्ता गरिएको तथ्य बीमापोष्टलाई प्राप्त भएको छ । ञवाल गुठियारहरुका अनुसार पहिले शंकरशमशेर जबराले यो जग्गा आफ्नो भएको जिकिर गर्थे । तर, २०५८/०५९ मा हिमालयन इन्टरप्राइजेजको नाममा आउनुअघिसम्म यो जग्गा पर्ति भएको मातपोत कार्यालय ललितपुरले उपलब्ध गराएको कागजातमा उल्लेख छ ।

२०७९ फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधिश इश्वर प्रसाद खतिवडा र हरिप्रसाद फुयाँलले सेटिङमा पर्ति जग्गालाई चौधरी ग्रुपको लगानी रहेको हिमालयन इन्टरप्राइजेजको नाममा दर्ता गर्न मालपोत कार्यालयको नाममा अन्तरिम आदेश दिएको देखिन्छ । न्यायालय सम्बन्धका जानकारहरुका अनुसार न्यायाधीश खतिवडा न्यायलय सेटिङ गिरोहका भित्र्याहा हुन् ।

न्यायालय परिसर मै न्यायाधीश खतिवडाका छोरा अपूर्व खतिवडा संगठित सेटिङका अगुवा भएको टिप्पणी हुने गरेको छ । न्यायाधीश नियुक्ति, सरुवा बढुवा मात्र नभई मुद्दाको सेटिङ यसै गिरोहले गर्ने गरेको रहस्योद्घाटन समेत भइसकेको छ । सरकारी जग्गालाई राजनीतिक पहुँच र घुस सेटिङमा व्यक्तिको नाममा दर्ता गरिएको दावी गुठीयारहरुले गरिरहेका छन् ।

पहिलो चरणमा सर्वोच्च अदालतले २०६२ कार्तिक १ गते अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गालाई हिमालयन इन्टरप्राइजेज प्रालिको नाममा दर्ता गर्न दिएको र सोही आदेशमा टेकेर २०६६ माघ ७ गते ललितपुर मालपोत कार्यालयले कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा दिएको देखिन्छ ।

यो जग्गालाई हकदावी गर्न पुगेका गोपाल शमशेर जबरा र गौरीशंकर जबरासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले २०७९ फागुन २३ गते पुनः अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गाको कित्ताकाट र हिमालयन इन्टरप्राइजेजको नाममा हुने यसअघिको फैसलालाई सदर गरेको देखिएको छ । चौधरी ग्रुप पटक–पटक न्यायालय पुगेर आफ्नो पक्षमा फैसला गराई सरकारी जग्गा कब्जा गर्न सफल भएको देखिन्छ ।

चौधरी ग्रुपले कब्जा गरेको सरकारी जग्गामा ऐतिहासिक मत्स्येन्द्रनाथको रथ निर्माण अघि कुल देवताको नित्य पूजा हुने गरेको छ । रथ निर्माणका लागि दिइने १५ दिन मध्ये १२ दिन पुरा काम गर्ने ञवाल गुठियारहरुले ६५ फिट अग्लो रथमा चढेर काम गर्दा कुनै अप्रिय घटना नहोस् भनी कुल देवताको नित्य पूजा गर्ने प्रचलन छ । जसलाई उनीहरुले नीव र जतको ‘रक्षा’ पूजा भन्ने पनि गरेका छन् ।

ञवालहरुको कुल देवतास्थल रहेको २ आना जग्गा बाँकी रहेका कारण चौधरी समूहले त्यस ठाउँमा व्यापारिक भवन बनाइसकेको छैन । तर, सगोलको पर्ति जग्गालाई पाँच कित्तामा टुक्रयाएर विभिन्न संरचनाहरु बनाइएको छ । कुल देवताको नित्य पूजा हुजे जग्गा समेत ओगटेर चौधरी ग्रुपले व्यवसायिक कम्पलेक्स बनाउने तयारी गरेको छ । जस कारण उसले पटक-पटक कुलदेवताकोस्थल हटाउन भन्दै ञवालहरुलाई धम्की दिने गरेको बताइएको छ ।

सम्बन्धित समाचार

गुठीको जग्गा चौधरी ग्रुपले कब्जा गरेपछि रातो मत्स्येन्द्रनाथको जात्रा संकटमा, यो वर्षदेखि ‘रथ निर्माण नहुने

पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

2 thoughts on “अदालभित्रै सेटिङ गरेर पुल्चोकको ‘४-४’ रोपनी जग्गामा चौधरी ग्रुपको रजाइँ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*