पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

२२ फाल्गुन २०८०, मंगलवार १८:१०

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनावद्ध रुपमा कब्जा गरेको चौधरी ग्रुपले १६ सय वर्ष लामो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको जात्रा नै समाप्त पार्ने गरी सरकारी जग्गा हडपेको रहस्य खुलेको छ ।

२०२१ सालको नापी अनुसार ४३ नम्बर नम्बर कित्तामा रहेको ञवाल देवाली गुठीसहितको भोगचलनमा रहेको पुल्चोकस्थित ४ रोपनी ४ आना १ पैसा पर्ति जग्गा २०६६ सालपछि ५ टुक्रा पारेर कब्जा गरिएको छ । उक्त सरकारी जग्गा अहिले विनोद चौधरीका भाइ अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा छ ।

यो जग्गा कसबाट ? कसरी चौधरी समूहले हत्यायो भन्ने झन् रहस्यपूर्ण छ । गुठी संस्थान ललितपुर शाखालाई मालपोत कार्यालय ललितपुरले पठाएको श्रेस्ता उतारको प्रतिलिपिबाट सगोलको ४३ नम्बर कित्ता पर्ति जग्गा हो भन्ने प्रमाणित हुन्छ भने हाल त्यसको भोगाधिकारी अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेज हो भन्ने पनि देखिन्छ । तर, यो जग्गाको मोही वा तल्सिङ् कोही देखिँदैन । तत्कालीन वडा सचिव बाबु राजा डंगोलले गुठीयारहरुलाई बोलाएर गरेको सर्जमिनबाहेक यो जग्गा किनबेचमा मोही वा तल्सिङ देखिँदैन ।

ञवाल गुठियारहरुका अनुसार पहिले शंकरशमशेर जबराले यो जग्गा आफ्नो भएको जिकिर गर्थे । तर, २०५८/०५९ मा हिमालयन इन्टरप्राइजेजको नाममा आउनुअघिसम्म यो जग्गा पर्ति भएको मातपोत कार्यालय ललितपुरले उपलब्ध गराएको कागजातमा उल्लेख छ ।

सीजी समूहको कर्पोरेट कार्यालय पुग्न झण्डै १०० मिटर अगाडि नै पर्ने ञवालहरुको कुल पूजा गर्ने देवस्थल भएको जग्गा विनोद चौधरीको डिजाइनमा अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजले कब्जा गरेको हो । ललितपुरका तत्कालीन मेयर बुद्धीराज बज्राचार्यलाई चौधरी समूहले आठ आना जग्गाको अफर दिएका कारण पनि यसको मुख्य डिजाइनर विनोद चौधरी नै भएको पुष्टि हुन्छ । तत्कालीन मेयर बज्राचार्यले एउटै कित्तामा रहेको ४३ नम्बरको ४ रोपनी ४ आना १ पैसा जग्गा पर्ति नै रहेको पुष्टि हुने थुप्रै प्रमाणहरु रहेको बताएका छन् ।

नजिकै ललितपुर महानगरको ३ नम्बर वडा कार्यालय छ । वडा कार्यालय छेउको सरकारी जग्गासँगै चौधरी समूहको हाउजिङ बन्दैछ । त्यो हाउजिङ पुग्नु अगावैको जग्गामा ञवालहरुको कुल देवताको देवस्थल छ । जुन अहिले साँघुरो टुक्रामा खुम्चिएको छ । अरुण चौधरीले आफ्ना कानून व्यवसायी र प्रतिनिधि पठाएर पटक-पटक कुलदेवता हटाउन भनिरहेका छन् । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन भने मौन छन् । संयोगले पहिले ३ नम्बर वडाको वडाध्यक्ष भएका चिरिबाबु अहिले मेयर भएर पनि केही गर्न सकिरहेका छैनन् । चौधरी समूहकासामु चिरिबाबु चुइँक्क बोल्दैनन् ।

ञवाल गुठीयारहरु भने यसको छानविनका लागि गुठी संस्थान, मालपोत र नापी कार्यालयबाट कागजात संकलन गरेर गृहमन्त्रीलाई भेट्ने तयारीमा छन् । केही दिन अघि मात्रै गृहमन्त्रालयले देशभर अतिक्रमणमा परेका सरकारी जग्गाको विवरण पठाउन भनी ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको थियो ।

चौधरी समूहले ललितपुरको कुनै एक ठाउँमा मात्र नभई भिन्नभिन्न ठाउँमा सरकारी जग्गा हडपेर व्यापारिक भवन तथा संरचनाहरु बनाएको तथ्य बीमापोष्टले निरन्तर उजागर गरिरहेको छ । पुल्चोकमा रहेको ञवाल देवाली गुठीको जग्गामा रातो मत्स्येन्द्रनाथको रथ बनाउन सुरु गर्नु भन्दा पहिले विधिपूर्वक ‘रक्षा’ पूजा गर्ने प्रचलन छ । ञवालहरुको कुल देवतास्थल रहेका कारण चौधरी समूहले त्यो ठाउँमा व्यापारिक भवन बनाइसकेको छैन । तर, अन्य पाँचवटा कित्तामा विभिन्न संरचनाहरु बनाएर भाडामा दिइएको छ ।

सर्वोच्च अदालतले २०६२ कार्तिक १ गते अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गालाई हिमालयन इन्टरप्राइजेज प्रालिको नाममा दर्ता गर्न दिएको र सोही आदेशको जगमा २०६६ माघ ७ गते ललितपुर मालपोत कार्यालयले कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा दिएको देखिएको छ ।

सो जग्गालाई हकदावी गर्न पुगेका गोपाल शमशेर जबरा र गौरीशंकर जबरासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले २०७९ फागुन २३ गते पुनः अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गाको कित्ताकाट र हिमालयन इन्टरप्राइजेजको नाममा हुने यसअघिको फैसलालाई सदर गरेको देखिएको छ । अरुण चौधरी पक्षले श्रीधरशमशेर जबराको हुने सर्वोच्चको फैसला बमोजिमको उक्त जग्गा हिमालयन इन्टरप्राइजेज प्रालिको भएको दावी गरेको छ ।

किन महत्वपूर्ण छ यो जग्गा ?
रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएका महत्वपूर्ण ४ गुठी मध्ये दोस्रो र महत्वपूर्ण गुठी को ञवाल देवाली गुठी । पहिलो नम्बरमा पानेजू रातो मत्स्येन्द्रनाथका लागि अनिवार्य छ । जसको ह्याङ्ग्री भैरव ३२ पानेजू संघ नै छ । दोस्रोमा ञवालहरु नभई रातो मत्स्येन्द्रनाथको रथ नै निर्माण हुँदैन । रथ निर्माण गर्नु अघि ञवालहरुले कुल पूजा गर्छन् र प्रसाद ग्रहण गर्छन् । जुन जग्गा चौधरी घरानाले किनेको भनिएको छ ।

साँघुरो टुक्रा जग्गामा सिमित भएको कुल देवस्थलमा पूजा गर्ने र दुई चार जनाले फन्को लगाउन मिल्ने ठाउँ मात्रै दिनुस् बरु प्रसाद बाटैमा बसेर ग्रहण गरौँला भनी पटक-पटक आग्रह गर्दा र ललितपुर महानगरको रोहवरमा छलफल गर्दा चौधरी समूहले पठाएका प्रतिनिधिले नमानेको ञवाल देवाली गुठीका गुठियार नवीन महर्जनले बताए ।

उनले भने, ‘हामी ञवालहरु नभई रातो मत्स्येन्द्रनाथको रथ तयार हुँदैन । हामी रथमा त्यसै चढ्दैनौं । ६५ फिट अग्लो रथ निर्माण गर्न ‘रक्षा’ कबच प्राप्ति र कार्यसिद्धी तथा सफलताका लागि हामी कुल पूजा गर्छौ । तर, यो जग्गा भित्रभित्रै व्यापारिक समूह चौधरी घरानालाई बेचिएको कुरा सुनेर हामी हैरान भयौँ । हामीले यसको फिर्तीका लागि विभिन्न ठाउँमा अनुरोध गर्दा अहिलेसम्म कसैले सुनेको अवस्था छैन । हामीलाई यहाँबाट कुलदेवता उठाएर लैजान भनिएको छ । भनए डोजर लगाएर मिल्काउने धम्की बारम्बार आइरहेको छ । यो नरोकिए १६ सय वर्ष पूरानो इतिहास बोकेको जात्रा नै बन्द हुन्छ । कुल देवता पूजा नगरी हामीले रथ निर्माण गर्नै मिल्दैन । यो जग्गा मासिनासाथ हामी रथ निर्माण गर्न सक्दैनौं । रथ निर्माण नभएपछि जात्रा बन्द हुन्छ ।’

उनका अनुसार १५ दिनमा रथ तयार गर्ने समय दिइएको हुन्छ । जसमा लगातार १२ दिन ञवालहरुले काम गर्छन् भने ३ दिन बाराही गुठियारहरुले काम गर्छन् । बाराही समाजले रथ बनाउने ७० प्रतिशत काठ ल्याउँछ भने ३० प्रतिशत (डोरी, बेत र काठ) ञवालहरुले जुटाउँछन् । अनि मात्रै १५ दिनमा रथ तयार हुन्छ । चौथो महत्वपूर्ण गुठी ‘घको’ हो । जसले रथमा ब्रेक लगाउने कार्यभार पाएको छ । ज्योतिष, पूजा, सरसफाइ गरेर यसमा थुप्रै गुठियारहरु संलग्न हुन्छन् ।

राणाबाट किनेको गफ
चौधरी घरानाले यो जग्गा आफुले राणा परिवारसँग किनेको भन्ने गरेको छ । कुन ? राणा भन्दा नाम भन्दैन । २१ सालको नापी अनुसार सगोलको ४३ नम्बर कित्ता तत्कालीन श्री ५ को सरकारको स्वामित्व रहेको कागजी प्रमाणहरु छ ।

२०६६ सालमा जनप्रतिनिधि नभएको मौकामा तत्कालीन वडा सचिव बाबु राजा डंगोलले लामो हातगरेको हुनसक्ने उनले गरेको सर्जमिन कागजले प्रमाणित गर्छ । उनले गुठियारहरुलाई सर्जिमिनका लागि डाकेको कागज समेत बीमापोष्टलाई प्राप्त भएको छ ।

5 thoughts on “पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*