पुल्चोकको जग्गा काण्डमा ललिता निवास कनेक्सन, मन्त्रीका पीए खटाएर चौधरी ग्रुपलाई सरकारी जग्गा

२० चैत्र २०८०, मंगलवार १८:३१

काठमाडौं । रातो मत्स्येन्द्रनाथ जात्रासँग जोडिएको पुल्चोकस्थित ञवाल गुठीले भोगचलन गरेकोसहित ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा विनोद चौधरीका भाइ अरुण अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा दर्ता गराउन तत्कालीन नेपाल सरकारका मन्त्रीहरु नै सक्रिय भएर लागेको तथ्य खुलेको छ ।

तत्कालीन माधव नेपाल नेतृत्व (२०६६ साल)को सरकारका पालामा भूमिसुधार मन्त्रालय समेतको जिम्मेवारी सम्हालेका कांग्रेस नेता विजय कुमार गच्छदार, माले नेता डम्बर श्रेष्ठ लगायतले ललितपुर महानगरको कार्यालय, वडा, मालपोत तथा नापी कार्यालयसम्म दैनिक पीए नै खटाएर गुठीले भोगचलन गरेको सहितको सरकारी जग्गा चौधरी ग्रुपको पोल्टामा पारेका हुन् ।

गच्छदार र श्रेष्ठ तिनै व्यक्ति हुन् । जो चर्चित ललिता निवास (बालुवाटार जग्गा काण्ड)प्रकरणमा मुछिएर पक्राउ पूर्जी जारी गरेका व्यक्ति । बालुवाटार जग्गा काण्डमा तत्कालीन भूमिसुधारमन्त्री समेत रहेका गच्छदार, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधव कुमार नेपाल, तत्कालीन राज्यमन्त्री सञ्जय साह (टक्ला)सँग बयान लिँदा डम्बर श्रेष्ठ फरार भएका थिए ।

लामो समय कामचलाउको हैसियतमा रहेको माकुने मन्त्रिपरिषद ७ पल्टसम्म पुर्नगठित भएको थियो भने प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायकमन्त्रीसहित ४३ जनाको जम्बो मन्त्रिमण्डल बनेको थियो । पुल्चोकको सरकारी जग्गा अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजको नाममा आउँदा डम्बर श्रेष्ठ भूमिसुधार मन्त्री थिए । यो जग्गा २०६६ साउन महिनामा चौधरी ग्रुपले हत्याएको थियो ।

तत्कालीन ललितपुर ३ का वडा सचिव बाबुराजा डंगोलले बीमापोष्टले यस सम्बन्धमा ४ वटा समाचार प्रकाशन गरिसकेपछि बल्ल मुख खोलेका छन् । आफु विरामी रहेको जानकारी दिंदै उनले भने, ‘मैले एउटै स्वार्थले गुठीको जग्गा रैकर गर्न सहयोग गरेको हुँ । हिमालयन इन्टरप्राइजेजका प्रतिनिधिहरुले हाम्रो (ञवा गुठी)को कुल देवतास्थलको जग्गा सुरक्षित राख्ने प्रष्ट शर्त बमोजिम मैले काम गरेको हुँ । त्यस वापत मैले कुनै जग्गा वा आर्थिक लाभ लिएको छैन ।

मन्त्रीका पीएसहित दैनिक चौधरी ग्रुपका १० जना जतिले वडा कार्यालय र नगरपालिका घर्ने र मन्त्रीहरुको टेलिफोन आउने गरेपछि मैले आफ्नै कुल देउताको थलो बेच्न साक्षी बस्दिन भन्दै राजीनामासम्म दिएको थिएँ । ‘नक्कली मोही’ श्रीधरशमशेरको हवाला दिँदै चौधरी समूहका प्रतिनिधिहरुले ञवालहरुको कुल देवता पूजाका लागि भोगचनल हुँदै आएको जग्गा सुरक्षित राख्ने प्रष्ट बचन दिएपछि म साक्षी बसेको साँचो हो ।’

तत्कालीन महानगरका प्रमुख कार्यकारी अधिकृतसामु पनि आफुले अनेक अनुनय विनय गरेपनि नसुनेको र बढीजसो कांग्रेस निकटस्थ मन्त्रीहरुले यसमा जोडबल गरेको डंगोलले बीमापोष्टलाई बताए । ञवालहरु ३० देखि ३५ घरधुरी छन् । सबै परिवारका सदस्य जोड्दा भोज खान उपस्थित हुने २ देखि ३ सय जना ञवालहरु नै हुन्छन् ।

डंगोलले भने, ‘गुठीले भोगचलन गरेकोबाहेक अन्य जग्गा खुल्लै थियो । त्यस कारण जतिजना पनि लाइन बसेर भोज खान मिल्ने थियो । तर, चौधरी ग्रुपले जग्गा हत्याएपछि जम्मा २ आनामा खुम्चिएको छ । त्यसबाट पनि कुल देवता हटाउन पटक-पटक धम्की आइरहेको छ ।’ चौधरीका मान्छेहरु र मन्त्रीहरुको धम्कीका सामु आफुले राजीनामा दिँदा पनि धर नपाएको गुनासो तत्कालीन वडा सचिव डंगोलले बताएका छन् ।

खास गरी हिमालयन इन्टरप्राइजेजको नामबाट वारेस बस्ने भाइरत्न शाक्यले तत्कालीन प्रमुख कार्यकारीदेखि न्यायलयसम्म घुस सेटिङ मिलाएको तथ्य थप पुष्टि भएको छ ।

सम्बन्धित समाचार

चौधरी ग्रुपको घुस खाएर ‘वडा सचिव’ले आफैं ढोग्ने देउता बेचे, अदालतमा वारेस बस्नेले गुठीको जग्गा लुटे

अदालभित्रै सेटिङ गरेर पुल्चोकको ‘४-४’ रोपनी जग्गामा चौधरी ग्रुपको रजाइँ

गुठीको जग्गा चौधरी ग्रुपले कब्जा गरेपछि रातो मत्स्येन्द्रनाथको जात्रा संकटमा, यो वर्षदेखि ‘रथ निर्माण नहुने’

पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*