चौधरी ग्रुपको घुस खाएर ‘वडा सचिव’ले आफैं ढोग्ने देउता बेचे, अदालतमा वारेस बस्नेले गुठीको जग्गा लुटे

१९ चैत्र २०८०, सोमबार १६:२६

काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरी संस्थापक रहेको चौधरी ग्रुपले १७ सय वर्ष पूरानो रातो मत्स्येन्द्रनाथको जात्रासँग सम्बन्धित पुल्चोकको ४ रोपनी ४ आना १ पैसा जग्गा गुठीयार र स्थानीयलाई नै घुस दिएर आफ्नो कम्पनीको नाममा पास गरेको रहस्य समेत खुलेको छ ।

ललितपुर महानगर ३ नम्बर वडा झम्सिखेल जाने बाटोमा रहेको रातो मत्स्येन्द्रनाथसँग जोडिएको उक्त जग्गा ञवा गुठीका गुठीयार समेत रहेका तत्कालीन वडा सचिव बाबुराजा डंगोल र स्थानीय भाइरत्न शाक्य लगायतलाई घुस दिएर आफ्नो कम्पनीका नाममा दर्ता गरेर ल्याएको रहस्य खुलेको हो ।

सोमबार गुठी संस्थान ललितपुर शाखामा रातो मत्स्येन्द्रनाथको जात्रासँग सम्बन्धित सबै गुठीयार (पानेजु, बाराही समूह, पूजारी, ञवा, घको आदी)बीचको छलफलमा विनोद चौधरीका सहोदर भाई अरुण कुमार चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा जग्गा दर्ता गर्दा गुठीयारहरुको सर्जमिन गर्ने भित्रैका डंगोल थिए । तर, उनले त्यो बेला आफु गुठीयार भएको र नेपाल सरकारको वेतनधारी राष्ट्र सेवक समेत भएको चेष्टा गुमाएर गुठीयारको फर्जी सर्जमिन बनाएर चौधरी ग्रुपलाई कुल देवताको देवस्थल सुम्पिए ।

चौधरी ग्रुपबाट ठूलो आर्थिक लाभ लिन तत्कालीन वडा सचिव समेत रहेका डंगोलले आफैंले ढोग्नुपर्ने कुल देवता स्थल रहेको जग्गा बेचेर खाए । बैठकमा एक जना गुठियारले भने, ‘रातो मत्स्येन्द्रनाथको रथ बनाउनु भन्दा पहिले नित्य पूजा गरिने स्थलको मुख्य गुठीयार भित्रैको मान्छेले पदमा भएको बेला लामो हात गरेपछि ढलिरहेको सम्पदा दुर्बलले पनि कब्जा गर्न सक्छ । तत्कालीन सचिव डंगोल आफैंले ढोग्नु पर्ने देवस्थल बेच्न भ्याए । हिजै हामी आपसमा एकजुट भएको भए यो दिन आउने थिएन । तर, अब सगोलमा रहेको जग्गा पहिले कै अवस्थामा नफर्किएसम्म संघर्ष जारी रहन्छ ।’

चौधरी ग्रुपले जग्गा हत्याउन गुठीयार बाहिरका स्थानीयलाई समेत प्रयोग गरेको देखिन्छ । स्थानीय भाइरत्न शाक्यले चौधरी ग्रुपको तर्फबाट अदालतमा बारेस बसेकै कारण कित्ता नम्बर १७२ को जग्गा पाए । बक्सिसमा पाएको जग्गामा उनले घर बनाउने सोचेका थिए भने पछि विक्री गरेको खुल्न आएको छ । मुलुकको सांस्कृतिक प्रतिष्ठासँग जोडिएको रातो मत्स्येन्द्रनाथको रथ बनाउनुपूर्व कुल देवताको मूर्तिलाई स्थानीयले भागो चढाउने चलन छ । र, पूजा सकिएपछि त्यहिँ बसेर ‘ख्य’ अर्थात् लाइन बसेर प्रसाद ग्रहण गर्ने परम्परा छ । चौधरी ग्रुपले जग्गा हडपेपछि पहिले जसरी लाइन बसेर प्रसाद खान मिल्ने अवस्था छैन । कति वर्ष ञवालहरुले सडक मै बसेर प्रसाद ग्रहण गर्नुपरेको तथ्य समेत बीमापोष्टलाई प्राप्त भएको छ ।

चौधरी ग्रुपको धम्कीसँगै लालच
चौधरी ग्रुपले यो वर्ष ञवा गुठीयारहरुको कुल देवतास्थल हटाएरै छोड्ने धम्की दिएको छ । चौधरी समूहको यस्तो धम्की सुनेपछि ञवालहरुले यो वर्षदेखि रथ निर्माण गर्न नजाने पूर्व चेतावनी समेत दिइसकेका छन् ।

गुठीयारहरुका अनुसार चौधरी समूहले धम्कीसँगै लालच समेत देखाइरहेको छ । चौधरी समूहले अहिलेको देवस्थल भन्दा केही पर आफ्नो नाममा रहेको जग्गामा ३ देखि ५ फिटको टुक्रा दिने र त्यसैमा कूल देवता सार्न भनि लालच देखाइरहेको गुठीयारहरुले बीमापोष्टलाई बताएका छन् ।

ञवालहरुले भने पहिले जसरी श्री ५ को सरकारको नाममा रहेको सगोल कित्ता अन्तर्गत ४ रोपनी ४ आना १ पैसा जग्गा पूर्ववत अवस्थामा चाहिने अडान राखेका छन् । चौधरी ग्रुपले ठूलो लगानी अर्थात् रकम नोक्सान हुने हिसाब लगाउँदै लोभ र प्रलोभको नीति समेत अख्तियार गरेको छ ।

सर्वोच्च अदालतले २०६२ कात्तिक १ गते गरेको २०३८ साल पुस १६ गतेको निवेदन र अदालतको २०५७ जेठ ३२ गतेको निर्णय अनुसार मालपोत कार्यालय ललितपुरले जो जे बुझ्नुपर्दछ सो गर्नु भनी दिएको आदेशको गलत फाइदा उठाएर चोधरी ग्रुपले २०२१ सालमा पर्ति जग्गा हुँदै २०५२ सालमा नेपाल सरकारको नाममा रहेको जग्गा आफ्नो नाममा बनाएको र यसको लागि भाइचा महर्जन समेत ११ जनालाई १९ आना जग्गा दिएर स्थानीयलाई मिलाउन लगाएको ञवा गुठीयारहरुको आरोप छ ।

मिलापत्रमा भाइचा महर्जनलगायत ११ जनालाई चौधरी ग्रुपले दिएको जग्गामा अहिले घरटहरा निर्माण गरी भाडामा लगाइएको देखिन्छ । भाइचा महर्जनलगायत ११ जना भने दुई सय ५० जना रहेको मिखबहाल गुठीका गुठीयार हुन् ।

सम्बन्धित समाचार

अदालभित्रै सेटिङ गरेर पुल्चोकको ‘४-४’ रोपनी जग्गामा चौधरी ग्रुपको रजाइँ

गुठीको जग्गा चौधरी ग्रुपले कब्जा गरेपछि रातो मत्स्येन्द्रनाथको जात्रा संकटमा, यो वर्षदेखि ‘रथ निर्माण नहुने’

पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

2 thoughts on “चौधरी ग्रुपको घुस खाएर ‘वडा सचिव’ले आफैं ढोग्ने देउता बेचे, अदालतमा वारेस बस्नेले गुठीको जग्गा लुटे

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*