संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरू, कार्यसूचीमा ६ अध्यादेश

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरू हुँदै छ। बजेट अधिवेशन सकिएको करिब पाँच महिनापछि संसद्को नयाँ अधिवेशन बस्न लागेको हो।
अधिवेशनको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिने छ। साथै सभामुख र उपसभामुख अनुपस्थित भएमा बैठकको अध्यक्षता गर्ने अध्यक्ष मण्डलको मनोनयन गरिनेछ। दलीय परामर्शअनुसार हरेक अधिवेशनमा अध्यक्ष मण्डल मनोनयन गर्ने अभ्यास रहँदै आएको छ।
यस अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइएको छ। संसद्का दुवै सदनमा हाल करिब दुई दर्जन विधेयक विचाराधीन छन्, जसमध्ये अधिकांश समितिमा दफावार छलफलको चरणमा छन्।
संसद् नचलेको अवस्थामा सरकारको सिफारिसमा जारी भएका छ वटा अध्यादेश पनि बैठकमा पेस गरिनेछ। तीमध्ये सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐन संशोधन, वित्तीय उत्तरदायित्व तथा आर्थिक कार्यविधि सुधार, निजीकरण संशोधन, आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि, सहकारीसम्बन्धी ऐन संशोधन र भूमिसम्बन्धी ऐन संशोधन जस्ता अध्यादेशहरू रहेका छन्।
आजको बैठकमा पूर्वसभामुख दमननाथ ढुंगाना र संविधानसभा सदस्य रामजी शर्माको निधनमा शोक प्रस्ताव पनि पेस गरिनेछ। ढुंगानाको मंसिर २ गते र शर्माको माघ ७ गते निधन भएको थियो। उनीहरूको योगदानलाई स्मरण गर्दै संसद्ले श्रद्धाञ्जली अर्पण गर्नेछ।
राष्ट्रिय सभाको पहिलो बैठक सुरू हुनेबित्तिकै अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्नेछन्। साथै राष्ट्रिय सभाका नेताहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिनेछन्।
राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकको प्रतिवेदन पनि पेस गरिनेछ। विधायन व्यवस्थापन समितिले यी विधेयकहरू अध्ययन गरी तयार पारेको प्रतिवेदन शुक्रबारकै बैठकमा प्रस्तुत गरिने भएको छ।











