फेसबुक, युट्युब, इन्स्टाग्राम अझै मन्त्रालय पुगेनन्, सञ्चारमन्त्री भन्छन् ‘कानुन मान्नैपर्छ’

१० असार २०८२, मंगलवार १६:०१

काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरेका प्लेटफर्ममाथि सरकार कडाइ गर्न तयार भएको संकेत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा पनि अधिकांश सामाजिक सञ्जालहरूले दर्ता नगरेको बताए। मन्त्री गुरुङले भने, ‘सामाजिक सञ्जाल प्लेटफर्म अहिले पनि दर्तामा आएको छैन। तीन पटक हाम्रो मन्त्रालयले दर्ता गर भन्नु परेको थियो, उनीहरू आएका छैनन्। त्यसैले अहिले हामी अध्ययन गरिरहेका छौं।’

उनका अनुसार सामाजिक सञ्जाल नियमनका लागि तयार पारिएको विधेयक पास भएपछि यो समस्या समाधान हुनेछ। ‘सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, नेपालको कानुन मान्नुपर्छ’ उनले भने, ‘विधेयक पास नभएसम्म निर्देशिकाको आधारमा सञ्चालन गर्नेछौं। कम्युनिटी गाइडलाइन र फ्याक्ट चेकिङमार्फत कन्टेन्टको निगरानी भइरहेको छ।’

मन्त्री गुरुङले आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को रूपमा अघि बढाउने लक्ष्य लिइएको जानकारी पनि दिए। उनले सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रुपान्तरण र समृद्धि हासिल गर्ने दीर्घकालीन योजना अगाडि बढाइएको उल्लेख गरे। साथै, सुशासन, विद्युतीय शासन प्रवर्द्धन र सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनाइएको निर्देशिका २०८० अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा तोकिएका कागजातसहित दर्ता गर्नुपर्ने व्यवस्था छ। साथै, सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नुपर्ने व्यवस्था पनि रहेको छ।

कानुनी व्यवस्थाअनुसार हाल भाइबर मिडिया, टिकटक र सारांश मिडिया ल्याब प्रालि (विटक) मात्रै मन्त्रालयमा सूचीकरण भएर सञ्चालनमा आएका छन्। फेसबुक, ह्वाट्सएप, वीच्याट, स्नापच्याट, टेलिग्राम, इन्स्ट्राग्राम, युट्युब, एक्स (ट्विटर), नेटफ्लिक्स, लिंकेडइन, थ्रेड्स, डिस्कोर्ड, रेडडिट जस्ता धेरैजसो प्रमुख प्लेटफर्महरूले अहिलेसम्म दर्ता प्रक्रिया पूरा गरेका छैनन्।

सरकारले पटक-पटक दर्ताका लागि आह्वान गरिरहे पनि ती प्लेटफर्महरूको तर्फबाट औपचारिक पहल देखिएको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*