विकासको गति तीव्र पार्न निजी र विदेशी लगानी अपरिहार्य: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको दिगो विकास र तीव्र आर्थिक वृद्धिका लागि निजी क्षेत्र र विदेशी लगानी अपरिहार्य रहेको बताएका छन् ।
प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले मुलुकको समग्र विकास योजनामा राष्ट्रिय योजना आयोगको भूमिका विशेष महत्त्वपूर्ण रहेको बताए । ‘राष्ट्रिय योजना आयोग दीर्घकालीन सोच, योजना तथा अनुसन्धान गर्दै आएको छ र देशको विकास योजनामा सुझाव दिँदै आएको छ’ उनले स्पष्ट पारे ।
सरकारी बजेटबाट मात्र अपेक्षित विकास सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्र र विदेशी लगानीमार्फत थप स्रोत जुटाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘मुलुकको राजस्वमा परिचालन दबाब परिरहेको छ, सार्वजनिक ऋण पनि उकालो लागिरहेको छ । सार्वजनिक–निजी साझेदारी मार्फत राजस्व परिचालनमा सहयोग पुग्नेछ र पूर्वाधार विकासमा स्वदेशी तथा विदेशी लगानी महत्वपूर्ण हुनेछ ।’
प्रधानमन्त्री ओलीले लगानी बोर्डको आवश्यकता पनि त्यही सन्दर्भमा आएको स्पष्ट पारे । उनले नेपाललाई आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी विकासको गति तीव्र पार्नु अपरिहार्य भएको बताए ।