सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरू बन्दको घोषणा

काठमाडौँ । नेपाल चिकित्सक संघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सोमबार आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। उपभोक्ता अदालतले चिकित्सकहरूलाई क्षतिपूर्ति भराउन आदेश दिएपछि त्यसको विरोधमा संघ आन्दोलनमा उत्रिएको हो।
संघले उपचारमा लापरबाही भएको भन्दै चिकित्सक र स्वास्थ्य संस्थामाथि उपभोक्ता अदालतबाट क्षतिपूर्ति भराउने निर्णय गलत भएको दाबी गर्दै त्यसको खारेजी माग गरेको छ। सोही मागसहित आन्दोलनका कार्यक्रम घोषणा गर्दै संघले चिकित्सकहरूमाथि भइरहेको दवाव, दण्ड र अपमानजनक व्यवहारविरुद्ध सडक संघर्ष सुरु गरेको जनाएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार, आन्दोलनका क्रममा शुक्रबार नै देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा संघका शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका छन्।
त्यस्तै आइतबार देशभरका चिकित्सकहरूले आफ्नै कार्यस्थलमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ। यसै क्रममा श्रावण २४ गते नेपाल मेडिकल काउन्सिलमा प्रमाणपत्र बुझाउने कार्यक्रम पनि संघले घोषणा गरेको छ।