कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

काठमाडौँ । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न नदिन तीनवटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको प्रक्षेपण गरेको र वर्षा लगातार भइरहेकाले जलाशयमा पानीको सतह बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेर पानीको अधिकतम उपयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिए।
उनका अनुसार हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२ दशमलव ७५ मिटर रहेको छ। तीनवटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेकाले जल सतहमा ठूलो वृद्धि हुन पाएको छैन।
कुल १०६ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाअन्तर्गत पहिलो, दोस्रो र तेस्रो युनिटबाट क्रमशः ६०, ३२ र १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।










