मानव अधिकार आयोगद्वारा चोलेन्द्रशमशेर जबरालाई भेट्न नदिएको भन्दै प्रहरीप्रति आपत्ति

काठमाडौं । नेपाल मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न नदिएको भन्दै नेपाल प्रहरीप्रति आपत्ति जनाएको छ।
जबरालाई पक्राउ गरिएको घटनाबारे जानकारी लिन आयोगको टोली आइतबार प्रहरी परिसर टेकु पुगेको थियो। तर, प्रहरीले आयोगको टोलीलाई जबरासँग भेटेर जानकारी लिन रोक लगाएको आयोगले जनाएको छ।
आयोगका अनुसार अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा समेत टोलीलाई भेटघाट रोक्नुको कारणबारे स्पष्ट जानकारी दिइएन।
आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ अनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण र अनुगमन गर्ने अधिकार आयोगलाई रहेको स्मरण गराएको छ।
‘नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको छ। अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो, यस विषयमा समेत टोलीलाई जानकारी दिइएन,’ आयोगले विज्ञप्तिमा भनेको छ।
आयोगले निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। साथै, आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्नसमेत आग्रह गरेको छ।










