बालुवाटार जग्गा प्रकरणमा रावलले भने, ‘ओलीको इसारामा विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिइएको हो’

काठमाडौँ ।। नेकपा (एमाले) बाट निष्काशित नेता डा. भीम रावलले बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई केपी शर्मा ओलीको इसारामा उन्मुक्ति दिइएको आरोप लगाएका छन्।
बुधवार आयोजित पत्रकार सम्मेलनमा रावलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई ओलीको निर्देशनको रूपमा प्रस्तुत गर्दै उक्त निर्णयको आलोचना गरे। उनले भने, ‘अख्तियारले ओलीको इसारामा नविन पौडेल र कुमार रेग्मीका नाममा मुद्दा नचलाउने निर्णय गरेको हो।
ललिता निवास जग्गा प्रकरणमा नाम चलेका नविन पौडेल र कुमार रेग्मीले अनियमित तरिकाले प्राप्त गरेको जग्गा सरकारलाई फिर्ता गरेको निर्णय गरेपनि, रावलले त्यसका आधारमा दण्ड सजाय नगर्ने कानुनी प्रक्रिया माथि प्रश्न उठाए। उनले थपे, कसैले चोरी गरेको सामान फिर्ता गर्छु भन्दैमा त्यसलाई दण्ड सजायबाट बचाउन सक्दैन।’
रावलले ओलीको विगतको कार्यकालमा पनि आरोप लगाएका छन्। उनले भने, ‘ओलीले आफ्नो जन्मदिनको अवसरमा ४ ओटा हेलिकोप्टर प्रयोग गरी विराटनगरको तयारी खाना गृह जिल्लामा ओसार्न लगाएका थिए। साथै, नेपालको नक्साको केक बनाएर सामन्तवादी प्रवृत्तिमा परेका थिए।’













