पुँजीभन्दा ३.१६ गुणा बढी ऋण बोकेको त्रिवेणी मोटोकर्प, डिएफएसी डोङफेङको बिक्री सुस्त

काठमाडौँ । नेपाली अटो बजारमा ठूलो चर्चा र महत्वाकांक्षासहित भित्रिएको त्रिवेणी मोटोकर्प सुरुवाती चरणमै चुनौतीमा परिरहेको छ । व्यापारिक सञ्चालन सुरु गरेको केही महिनामै कम्पनीको आर्थिक अवस्था र सञ्चालन क्षमतामाथि प्रश्न उठ्न थालेका छन् ।
त्रिवेणी समूह अन्तर्गत सन् २०२३ नोभेम्बर ६ मा स्थापना भएको यो कम्पनीले चिनियाँ डोङफेङ (डिएफएसी डोङफेङ) ब्रान्डका ट्रक, टिपर, हल्का व्यावसायिक सवारीसाधन तथा कामा ब्रान्ड अन्तर्गत विद्युतीय सवारी र माइक्रोबसहरू नेपाल भित्र्याइरहेको छ । सन् २०२४ अप्रिलदेखि व्यापारिक सञ्चालन थालेको कम्पनीले १३ करोड ४० लाख रुपैयाँ बराबरको मात्रै कारोबार गर्न सकेको छ ।
सवारी साधन बजारको ठूलो हिस्सा ओगट्ने सपना देखेर भित्रिएको कम्पनीले अपेक्षित सफलता भने हात पार्न सकेको छैन । बजार विस्तारको नाममा ऋण उठाएर व्यापार थाल्दा सुरुदेखि नै वित्तीय जोखिम बढेको देखिन्छ । कम्पनीको हालको समग्र ऋण अनुपात ३.१६ गुणा पुगेको छ । उक्त ऋण भारले वित्तीय भार दिनदिनै चर्किरहेको देखाएको छ ।
कम्पनीले ऋण उठाएर पूर्वाधार निर्माण, गोदाम, शोरूम र बजार विस्तारमा खर्च ग¥यो । तर बिक्री भने सुस्त भइरहँदा यसले उठाएको ऋणसमेत दबाब बन्न थालेको देखिन्छ । बजारमा प्रतिस्पर्धा चर्किदै जाँदा बिक्री अझै विस्तार हुन सकेको छैन ।
कम्पनीको नगद आम्दानी र कुल ऋणबीचको अनुपात ४०.६९ गुणा रहेको छ । यस्तो अनुपात खासगरी प्रारम्भिक चरणमा जोखिमको संकेत मानिन्छ । कम आम्दानीसँगै धेरै ऋण तिर्नुपर्ने दायित्व दीर्घकालीन सञ्चालनमा समस्या बन्न सक्ने देखिएको छ ।
कम्पनीको नाफा अघि व्याज, कर, मूल्यह्रास तथा कटौती प्रतिशत (पिबिआइएलडिटी मार्जिन) पनि ५.१५ प्रतिशतमै सीमित देखिएको छ । ब्याज तिर्ने क्षमताको सूचक ब्याज कभर अनुपात २०.३८ गुणा देखिएको छ ।
चालु अनुपात १.२१ गुणा देखिए पनि नयाँ व्यवसायिक मोडेलमा ठूलो स्टक राख्नुपर्ने, गोदाम, शोरूम र अन्य परिचालन खर्चका कारण यो तरलता दीर्घकालीन रुपमा सुरक्षित हुने ग्यारेन्टी देखिँदैन । नेपाली अटो बजारमा जापानी, कोरियन, युरोपियन र भारतीय ब्रान्डबीच प्रतिस्पर्धा भइरहँदा चिनियाँ ब्रान्ड डोङफेङ र कामाले नेपाली उपभोक्तालाई आकर्षित गर्न सकेको छैन ।
त्रिवेणी मोटोकर्पलाई दुई प्रकारका बैंक सुविधाहरूका लागि मूल्याङ्कन प्रदान गरिएको छ । कम्पनीलाई दीर्घकालीन बैंक सुविधा अन्तर्गत ५ करोड रुपैयाँका लागि ‘केयर–नेपाल डबल बी’ मूल्याङ्कन दिइएको छ भने अल्पकालीन बैंक सुविधा अन्तर्गत ६५ करोड रुपैयाँका लागि ‘केयर–नेपाल ए चार’ मूल्याङ्कन प्रदान गरिएको छ।













