एनसेल र स्मार्टसेलमा ९६ अर्ब घोटाला गरेको आरोपमा सिआईबीद्वारा मुद्दा दायर

२७ श्रावण २०८३, बुधबार २३:१७

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले एनसेल तथा स्मार्ट सेलमा गरिएको करिब ९६ अर्ब रुपैयाँ घोटाला काण्डमा संलग्न २२ जना विरुद्धमा आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज दिनभर लगाएर जिल्ला अदालत काठमाडौंमा ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा स्मार्ट टेलिकम, एनसेल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका पदाधिकारीसहित सात विदेशी नागरिकलाई प्रतिवादी बनाएर ९६ अर्ब १२ करोड १७ लाख रुपैयाँ बिगो मागदाबीसहित अभियोगपत्र दायर गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसअघि अर्थमन्त्रालय तयार पारेको छानविन प्रतिवेदन समेतको आधारमा एनसेलमा ठूलो रकम घोटाला भएको ठहर गर्दै कम्पनीका मालिक सतिशलाल आचार्य, उनकी श्रीमती भावना सिंह, छोरा सचिनलाल आचार्यलाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो।

स्मार्ट टेलिकमको सम्पत्ति तथा लाइसेन्ससँग जोडिएको लिलाम प्रक्रियामा अनियमितता भएको आशंकामा सीआईबीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा स्मार्ट टेलिकम र एनसेलबीच विगतमा भएका आर्थिक कारोबार, कम्पनीको सेयर हस्तान्तरण, बैंकिङ कारोबार तथा लिलाम प्रक्रियासँग सम्बन्धित विभिन्न पक्षको अध्ययन गरिएको थियो।

कूल ९६ अर्ब बिगो मध्ये स्मार्ट सेलको मात्रै नौ अर्ब रुपैयाँ घोटाला गरिएको आरोप लगाइएको छ भने एनसेलका पदाधिकारीविरुद्ध ८७ अर्बभन्दा बढी बिगो अभियोगपत्रमा दाबी एनसेलसँग सम्बन्धित व्यक्तिहरूविरुद्ध गरिएको छ। एनसेलका पदाधिकारी तथा सम्बन्धित विदेशी नागरिकविरुद्ध ८७ अर्ब २ करोड ६४ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यसअन्तर्गत एनसेलका अध्यक्ष सतिशलाल आचार्य, सञ्चालक सदस्य सचिनलाल आचार्यसहित केही विदेशी नागरिकलाई प्रतिवादी बनाइएको छ। एनसेलका पदाधिकारी तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध दाबी गरिएको बिगो कुल मुद्दाको सबैभन्दा ठूलो हिस्सा हो। सरकारी पक्षले अभियोगपत्रमार्फत उक्त रकम असुलउपर गर्न माग गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*