सपना देखाउने होइन, पूरा गर्ने बजेट: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणतर्फ थप एक कदम अघि बढाउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देखाउनेभन्दा पनि पहिले देखिएका सपनालाई पूरा गर्ने गरी ल्याइएको स्पष्ट पारे।
उनले बजेट केवल आकार, अनुमान र प्रस्तावका दृष्टिले मात्र नभई कार्यान्वयनको दृष्टिले समेत उपयुक्त बन्ने विश्वास व्यक्त गरे। ‘बजेट कार्यान्वयनका दृष्टिले नयाँ उदाहरण स्थापित होस् भन्ने सोच र संकल्पसहित यो बजेट प्रस्तुत गरिएको हो’ अर्थमन्त्री पौडेलले भने।
आगामी आर्थिक वर्षको अन्त्यसम्म मुद्रास्फीति ५.५ प्रतिशत भित्र सीमित राख्ने र ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्ने गरी बजेट कार्यान्वयन गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए।
उनले बजेटमार्फत मुलुकको अर्थतन्त्र पुनः चलायमान हुने र सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणतर्फ एक कदम अघि बढ्ने दाबी गरे। ‘बजेट कार्यान्वयनपछि हामी सुदृढ अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछौं भन्ने अठोट र संकल्पसहित यो बजेट आएको हो’ उनले भने।
आगामी आर्थिक वर्षको बजेट विगतमा घोषणा गरिएका योजनाहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको उल्लेख गर्दै पौडेलले यसपटक नयाँ योजना धेरै नल्याई पुराना योजनाहरु सम्पन्न गर्ने प्राथमिकता दिइएको बताए।













