११ महिनामा १६ खर्बको वस्तु आयात, साढे २ खर्बको निर्यात, व्यापार घाटा कति ?

६ असार २०८२, शुक्रबार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात गरेको छ । भन्सार विभागले आज प्रकाशित गरेको विवरण अनुसार जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।

गत आर्थिक वर्ष १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढी रहेको विभागले जनाएको छ ।

चालू आर्थिक वर्ष २०८१–८२ को ११ महिना (साउनदेखि जेठसम्म)मा नेपालबाट २ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। यो गत वर्षको तुलनामा ७७.७७ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट कुल एक खर्ब ३९ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो। निर्यातमा उल्लेख्य वृद्धि भएसँगै आयात पनि १३.१५ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको जेठसम्म नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ थियो।

चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ। चालू आर्थिक वर्षको ११ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

वैदेशिक व्यापारमा चालू आर्थिक वर्षको ११ महिनामा आयात १३.१५ प्रतिशत र निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो।

नेपालले चालु आवको जेठ महिनाको अवधिमा २ खर्ब ९४ अर्ब रुपैयाँ बराबर रकमको इन्धन खरिद गरेको छ । जसमा पेट्रेल, डिजेल, खाना पकाउने ग्यास, हवाई इन्धन र मट्टितेल समेत पर्छ । यो अवधिमा वनस्पति तेल र यसको कच्चा पदार्थ समेतको १ खर्ब ३८ अर्ब ५४ करोड रुपैयाँ बराबरको भएको छ ।

यस्ता वस्तुको निर्यात १ खर्ब ७ अर्ब रुपैयाँ बराबरको भएको छ । जसले गर्दा निर्यात बढाउन भूमिका खेलेको हो । १ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ बराबरको आइरन र स्टील आयात भएको छ । साढे १३ अर्ब रुपैयाँ बराबरको यस्तो वस्तु निर्यात भएको छ ।

नेपालले जेठ महिनासम्मको अवधिमा एक खर्ब १ अर्ब ६२ करोड ९६ लाख रुपैयाँ बराबरको सवारी साधन आयात भएको देखिन्छ । यसमा विद्युतीय सवारी साधन आयातमा छलाङ देखिएको छ । इलेक्ट्रिकल मेसिनरी वस्तुहरुको आयात समेत एक खर्ब माथि भएको छ ।

वस्तुगत रुपमा हेर्दा ११ महिनामा सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । डिजेल आयातमा एक खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ विदेशिएको देखिएको छ । दोस्रो नम्बरमा कच्चा सोयाविन तेल रहेको छ । यसको आयातमा ९५ अर्ब ७२ करोड विदेशिएको छ ।

तेस्रो नम्बरमा पेट्रोल आयात भएको छ । जसका लागि ५८ अर्ब ५८ करोड रुपैयाँ विदेशिएको छ । एलपीजी ग्यास ५७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आएको छ । ३२ अर्ब ८ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ । कच्चा सूर्यमुखी फूल तेलको आयात २६ अर्ब ८७ करोड रुपैयाँ बराबरको भएको छ । सुन १७ अर्ब १२ करोड बराबरको भएको छ ।

जेठ महिनासम्ममा सोयाविन तेलको निर्यात सबैभन्दा धेरै ९३ अर्ब ५१ करोड रुपैयाँ बराबरको भएको छ । सूर्यमुखी फुल तेलको निर्यात ११ अर्ब ३३ करोडको भएको छ । तेस्रो स्थानमा कार्पेट रहेको छ । जुन ९ अर्ब ७८ करोड बराबरको भएको छ । अलैची निर्यात ७ अर्ब १९ करोड रुपैयाँ बराबर भएको छ । रोल्ड आइरन/स्टीलको निर्यात ५ अर्ब १३ करोड रुपैयाँको भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*