एनसीएचएल र एण्ट इन्टरनेश्नलको संयुक्त पहलः क्रस–बोर्डर भुक्तानीमार्फत पर्यटन प्रवर्द्धन गरिने

८ असार २०८२, आईतवार १२:२८

काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट थप प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रविधि कम्पनी एण्ट इन्टरनेश्नलले संयुक्त कार्यक्रम आयोजना गरेका छन् । राजधानीमा आयोजित सो कार्यक्रममा बैंक तथा वित्तीय संस्था र पर्यटन क्षेत्रका उच्च पदस्थ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, निर्देशक सुभाष चन्द्र घिमिरे, नेपाल बैंकर्स संघका सीईओ अनिल शर्मा, टुर एन्ड ट्राभल एजेन्ट्स संघका अध्यक्ष कुमार मणि थपलिया, होटल संघ नेपालका सीईओ टेक बहादुर महत, पर्यटन बोर्डका निर्देशक सन्तोष पन्त, साथै एनसीएचएलका सीईओ नीलेश मान सिंह प्रधान लगायत पर्यटन र पेमेन्ट प्रविधिसँग जोडिएका विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी थिए ।

सो कार्यक्रममा नेपालको पर्यटनमा डिजिटल भुक्तानी प्रणालीको योगदान र सम्भावनाको बारेमा छलफल गरिएको थियो । विशेषगरी क्रस–बोर्डर क्यूआर भुक्तानी प्रणालीमार्फत विदेशी पर्यटकले नेपालमा सजिलै भुक्तानी गर्न सक्ने वातावरण तयार भएपछि पर्यटन क्षेत्रमा डिजिटल परिवर्तनले लिने गतिबारे पनि छलफल भएको थियो ।

एनसीएचएल र एण्ट इन्टरनेश्नलले गत वर्ष कार्तिकमा नेपालपे क्यूआर र अलिपेप्लस सञ्जालबीच क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा शुरू गरेका थिए । यस प्रणालीमार्फत १७ भन्दा बढी अन्तर्राष्ट्रिय इ–वालेट र मोबाइल बैंकिङ एपबाट नेपालपे क्यूआर प्रयोग गरी नेपालभर रहेका १२ लाखभन्दा बढी मर्चेण्टहरूलाई भुक्तानी गर्न सकिने भएको छ ।

भुक्तानी गर्न सकिने एपहरूमा अलिपे (चीन), अलिपेएचके (हङकङ), तिनाबा (इटाली), एमपे (मकाओ), टच एन गो र माईपीबी (मलेसिया), हाईपे (मंगोलिया), जीक्याश (फिलिपिन्स), चाङ्गी पे र ओसीबीसी डिजिटल (सिंगापुर), नेभर पे र टस पे (दक्षिण कोरिया), ट्रु मनि (थाइल्याण्ड), बिगपे (सिंगापुर, थाइल्याण्ड, मलेसिया) लगायतका एपहरू सामेल छन् ।

कार्यक्रममा सन्जिब सुब्बाको संयोजनमा भएको प्यानल छलफलमा नेपाल राष्ट्र बैंकका निर्देशक घिमिरे, बैंकर्स संघका सीईओ शर्मा, पर्यटन बोर्डका निर्देशक पन्त, अलिपेप्लसका कन्ट्री म्यानेजर किट्टिप्रापापोङ्ग, र एनसीएचएलका सीईओ प्रधान लगायतको उपस्थिति थियो

उक्त छलफलमा डिजिटल भुक्तानीमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, विदेशी मुद्राको सहज प्रबन्ध, मर्चेन्टहरूको पहुँच विस्तार र नेपालमा डिजिटल अर्थतन्त्रको सम्भावना जस्ता विषयमा विचार–विमर्श गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*