बुट मोडलमा तीन जलविद्युत आयोजना निर्माणका लागि सात कम्पनी सर्टलिस्ट

काठमाडौँ । विद्युत विकास विभागले बुट मोडलमा निर्माण गरिने तीन जलविद्युत आयोजना सञ्चालनको जिम्मा लिन इच्छुक कम्पनीहरूमध्ये सात कम्पनीलाई सर्टलिस्ट गरेको छ। विभागले यसअघि सार्वजनिक रूपमा आह्वान गरेको आशयपत्रका आधारमा प्राप्त आवेदनहरुको अध्ययनपछि कम्पनीहरूको सिफारिस सूची तयार पारेको हो।
विभागले २१.४ मेगावाट क्षमताको इन्खुखोला–४, ६५ मेगावाट क्षमताको कालिगण्डकी अपर, र ४९.५ मेगावाट क्षमताको लोती कर्णाली पीआरओआर आयोजना निर्माणका लागि इच्छुक कम्पनीहरूसँग आवेदन माग गरेको थियो। प्राप्त आवेदनहरूमध्ये छनोट प्रक्रियाबाट सात कम्पनीहरू सर्टलिस्टमा परेका हुन्।
२१.४ मेगावाटको इन्खुखोला–४ आयोजना निर्माणका लागि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, र स्नो रिभर्स लिमिटेड सिफारिसमा परेका छन्। यसैगरी, ६५ मेगावाटको कालिगण्डकी अपर जलविद्युत आयोजनाको लागि एक्वापिक इनर्जी प्रालि तथा साहस ऊर्जा लिमिटेडको संयुक्त साझेदारी (जेभी) र निलगिरी खोला हाइड्रोपावर कम्पनी चयनमा परेका छन्। यस्तै, ४९.५ मेगावाट क्षमताको लोती कर्णाली पीआरओआर आयोजना सञ्चालन गर्न अपि पावर कम्पनी लिमिटेड र तारा इनर्जी तथा भोटेकोशी पावर कम्पनीको संयुक्त जेभी सिफारिसमा परेका छन्।
यीमध्ये साहस ऊर्जा लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड र अपि पावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध कम्पनी हुन्।
सर्टलिस्टमा परेका कम्पनीहरूले अब आगामी भदौ २४ गते दिउँसो १२ बजेसम्म विभागमा प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोलिने कार्य तालिका तय गरिएको छ। प्राप्त प्राविधिक प्रस्तावको मुल्यांकन गरी प्रविधिक क्षमतामा अधिकतम ४५ अंक, वित्तीय क्षमतामा ३५ अंक, र अनुभवतर्फ २० अंक प्रदान गरिने विभागले जनाएको छ।
योग्यता प्राप्त गर्न कम्पनीहरूले न्यूनतम ६० अंक हासिल गर्नुपर्नेछ।













