रसुवा बाढी : ८४ करोड रुपैयाँको बीमा दावी, कुन कम्पनीको कति ? (विवरणसहित)

काठमाडौं । गत असार महिनाको २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट करिव साढे ८४ करोड रुपैयाँको बीमा दावी परेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित ११ निर्जीवन बीमा कम्पनीमा ८४ करोड ३८ लाख १० हजार रुपैयाँको बीमा दावी परेको छ । कम्पनीहरुमा कुल ६८ वटा बीमा दावी परेका छन् । यो तथ्यांक साउन ८ गतेसम्मको हो ।
तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा दुई वटा बीमा दावी वापत ५५ करोड रुपैयाँको दावी परेको छ । साथै, शिखर इन्स्योरेन्समा १२ वटा दावी वापत १६ करोड ८५ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ३ वटा दावी वापत पाँच करोड १२ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको सार्वजनिक विवरणले देखाएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई वटा दावी वापत दुई करोड ६५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १२ वटा दावी वापत एक करोड २८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दावी वापत ९१ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा नौ वटा बीमा दावी वापत ७५ लाख ५० हजार रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
यस्तै, सानिमा जिआइसी इन्स्योरेन्समा ६ वटा दावी वापत ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दावी वापत ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६ वटा दावी वापत ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
तथ्यांक अनुसार साउन ८ गतेसम्म सम्पत्ति बीमामा ६ वटा दावी वापत ५८ करोड एक लाख रुपैयाँ, सामुन्द्रिक बीमामा ७ वटा दावी वापत १६ करोड २३ लाख रुपैयाँ, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमामा ३ दावी वापत पाँच करोड ४० लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) मा ३८ वटा दावी वापत दुई करोड ५९ लाख रुपैयाँ र मोटर बीमा (निजि) मा १४ दावी वापत दुई करोड १४ लाख रुपैयाँ बीमा दावी परेको छ ।
नियामक निकाय बीमा प्राधिकरणले सबै विवरण संकलन गरी सक्दो चाँडो बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक बीमा दावी विवरण













