चीनको बेइजिङमा भीषण बाढी : ३० जनाको ज्यान गयो, हजारौँ विस्थापित

काठमाडौँ । चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी र अविरल वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गत सातादेखि जारी भारी वर्षाले राजधानीसहित उत्तरी चीनका विभिन्न भागमा जनधनको ठूलो क्षति पुर्याएको छ । स्थानीय प्रशासनका अनुसार बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको छ ।
शनिबारदेखि सुरु भएको वर्षाका कारण बेइजिङमा मात्रै ८० हजारभन्दा बढी नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको छ । राजधानीमा जारी वर्षाका कारण बाढीको उच्चतम आपतकालीन सतर्कता जारी गरिएको छ । अविरल पानी परिरहेकाले केही स्थानमा सडक र चोकहरू डुबेका छन्, रेल सेवा प्रभावित भएको छ र विद्यालय तथा अदालतको कामकाज समेत रोकिएको छ ।
यस वर्षको पहिलो छ महिनामा चीनभरिका प्राकृतिक विपत्तिबाट करिब ५४ अर्ब ११ करोड युआन (अन्दाजी ७.५ अर्ब अमेरिकी डलर) बराबरको आर्थिक क्षति भएको छ । चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार उक्त क्षतिको ९० प्रतिशतभन्दा बढी हिस्सा बाढीका कारण भएको हो ।
जुन महिनामा मध्य र दक्षिणी चीनमा समयभन्दा अगावै वर्षा सुरु हुँदा भूक्षय र बाढीका घटना व्यापक भएका थिए । जनवरीमा तिब्बतमा आएको एक भूकम्पमा मात्रै १२० जनाभन्दा बढीको ज्यान गएको थियो । मन्त्रालयका अनुसार यो वर्ष २३ लाख नागरिक प्राकृतिक विपत्तिबाट प्रत्यक्ष प्रभावित भएका छन् भने ६ लाख २० हजार मानिसलाई विस्थापित गरिएको थियो ।
बेइजिङदेखि करिब ३ घण्टा टाढा पर्ने चेङदे सहरमा गएको पहिरोले पनि ठूलो क्षति पुर्याएको छ । सोमबार उक्त सहरमा गएको पहिरोमा चार जनाको मृत्यु भएको छ भने आठ जना अझै बेपत्ता छन् । यसैगरी, यस महिनाको सुरुमा टाइफुन विप्हाले सान्दोङ प्रान्तमा दुईको ज्यान लिएको थियो र १० जना हराएका थिए ।
हेबेइ प्रान्तमा कार्यरत याङ नामकी महिलाले बीबीसीसँग कुराकानी गर्दै आफू मियुन जिल्लामा बसोबास गर्ने आफ्ना तीन परिवार सदस्यको अवस्थाबारे चिन्तित रहेको बताएकी छन् । उनका हजुरबुबा अपांग छन्, बाबु स्ट्रोकबाट पीडित छन् र आमा हेपाटाइटिसबाट पीडित भएकाले तिनीहरूलाई उद्धारमा समस्या पर्ने उनले बताएकी छन् । बाढीका कारण इन्टरनेट तथा मोबाइल सेवा अवरुद्ध हुँदा उनीहरू सम्पर्कविहीन बनेका छन् ।
यसैबीच, देशका अन्य भागहरूमा समेत चरम मौसमका घटना देखिएका छन् । दक्षिण चीनमा आएको को-मे नामको आँधीका कारण झेजियाङ, जियाङ्सु र आनहुई प्रान्तमा भारी वर्षाको चेतावनी दिइएको छ । उता पूर्वी र मध्य चीनमा भने गर्मीको लहर जारी छ जहाँ तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
एजेन्सिको सहयोगमा













