बोरिङ घोषणापछि विद्युत प्राधिकरण फिल्डमै, मधेसमा सिँचाइका लागि आपूर्तिको रणनीति तय हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसका जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि त्यसका लागि आवश्यक विद्युत आपूर्तिको अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं फिल्डमा खटिएका छन् । उनले जनकपुरधाममा मधेस प्रदेशका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी आवश्यक रणनीति बनाउने प्रयास थालेका छन् ।
चितवनको विद्युत आपूर्तिको अवस्था अवलोकनपछि जनकपुरधाम पुगेका निर्देशक शाक्यले सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायतका जिल्लामा प्राधिकरणका प्रमुखहरूसँग छलफल गर्दै सिँचाइका लागि बोरिङ गरिने स्थानमा तत्काल विद्युत कसरी आपूर्ति गर्न सकिन्छ भन्नेबारे जानकारी संकलन गरेका छन् ।
शाक्यका अनुसार सिँचाइका लागि आवश्यक विद्युत आपूर्ति गर्न प्राधिकरण तयार छ, तर बोरिङ कहाँ-कहाँ जाडिने भन्ने जानकारी सम्बन्धित निकायबाट प्रष्ट नआएकोले योजना बनाउने काममा ढिलाइ भएको छ । ‘हामी तयार छौं, तर कहाँ-जाड्ने भन्ने जानकारी आउनु जरूरी छ’ उनले भने, ‘बोरिङ गरिने स्थान, पम्पको क्षमता र अनुमानित लोडबारे विवरण आइसकेपछि रणनीति कार्यान्वयन गर्न गाह्रो हुँदैन ।’
शाक्यले अहिले सिँचाइका लागि डेढ महिना समय बाँकी रहेकोले ढिलाइ नगरी आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको बताए । उनले सम्बन्धित कार्यालय प्रमुखहरूलाई बोरिङ जडान हुने स्थानमा पुगेर किसानसँग प्रत्यक्ष छलफल गर्नसमेत निर्देशन दिएको बताए ।
‘किसानको समस्या राष्ट्रिय समस्या हो, त्यसको समाधानका लागि हामी फिल्डमै छौं’ उनले भने । विद्युत प्राधिकरणले सिँचाइ प्रयोजनका लागि प्रतियुनिट आठ रुपैयाँ पर्ने बिजुली तीन रुपैयाँमै दिने व्यवस्था गरेको जानकारी पनि उनले दिए ।
निर्देशक शाक्यले अबको एक महिनाभित्रै बोरिङ जडानको काम सम्पन्न गर्ने गरी आफू र प्राधिकरणको टोली लागि परेको स्पष्ट पारे । सिँचाइका लागि आवश्यक विद्युत आपूर्तिको पूर्वाधार तयार गर्न प्राधिकरणको प्राविधिक टोली आवश्यक स्थानहरूमा पुग्ने गरी तयारी थालिएको छ













