भारतको उत्तराखण्डमा बाढी–पहिरोले गाउँ नै बगायो, कैयौं मानिस क्षणभरमै बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार बाढी–पहिरोले ठुलो क्षति निम्त्याएको छ । खीर गंगामा जलस्तर बढेपछि धराली भन्ने ठाउँमा ठुलो क्षति भएको हो ।
उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढीले क्षणभरमै पुरै गाउँ नै विस्थापित गरिदिएको छ ।
बाढी तथा पहिरोले कैयौँ होटल तथा होमस्टेमा समेत क्षति पुगेको छ । बाढी–पहिरोका कारण कैयौँ नागरिक सम्पर्कविहीन रहेको स्थानीयवासीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार स्थानीय समयअनुसार दिउँसो २ बजे धरालीमा बाढी आएको हो । सो क्षेत्रका ६० देखि ७० जना सम्पर्कमा नरहेको भारतीय न्यूज च्यानल ‘आज तक’को अनलाइन संस्करणले जनाएको छ ।
बाढीले होटल, बजार र आवासीय घरसमेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेत्रमा अहिले उद्धार कार्य सुरु गरिएको छ । क्षतिको विवरण आउन केही समय लाग्ने अधिकारीहरूले जनाएका छन् ।













