हर्क साम्पाङ्गले कालीमाटी प्रहरी वृत्त सरसफाइ गर्ने

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गका समर्थकहरूले आज कालीमाटी प्रहरी वृत्तमा सरसफाइ र रंगरोगन गर्ने भएका छन्।
गत भदौ २३ गते काठमाडौंमा भएको भ्रष्टाचार विरुद्धको जेनजी पुस्ताको आन्दोलनमा सरकारले घातक बल प्रयोग गर्दा १९ जनाले ज्यान गुमाएका थिए। त्यसको भोलिपल्ट आक्रोशित आन्दोलनकारीहरूले प्रहरी कार्यालय, सरकारी कार्यालय सहित नेता तथा मन्त्रीहरूका घर आदिमा ब्यापक तोडफोड र आगजनी गरिदिएका थिए।
त्यही तोडफोड र आगजनीमा कालीमाटी प्रहरी वृत्त पनि परेको थियो। अहिले मेयर हर्क साम्पाङ्गका समर्थकहरूले उक्त प्रहरी वृत्तमा बिहान साढे १० बजेदेखि सरसफाइ तथा रंगरोगन गर्ने बताएका हुन्।
ब्यापक तोडफोड र आगजनीका कारण उक्त प्रहरी वृत्तमा प्रहरी बस्नै नसक्ने अवस्था भएपछि मेयरका समर्थकहरूले सहयोग जुटाएर स्वस्फूर्त रूपमा सरसफाइ र रंगरोगन गर्न लागेका हुन्।













