रेशम चौधरीको कैद माफीविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीलाई कैद सजाय माफी दिने तत्कालीन सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीको कैद माफीविरुद्ध परेको रिट खारेज गर्ने फैसला गरेको हो।
चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाइएको थियो। कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसलालाई सर्वोच्च अदालतले २०७९ जेठ २ गते सदर गरेको थियो।
तर, गणतन्त्र दिवसका अवसरमा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको सिफारिसका आधारमा तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद सजाय माफी गरिदिएका थिए। त्यसपछि चौधरी २०७९ जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
कैद माफी दिने निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
अदालतको फैसलाअनुसार चौधरीले अझै करिब १४ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा उनलाई कैद छुट दिइएको थियो। रिट खारेज भएसँगै चौधरीको कैद माफीसम्बन्धी उक्त निर्णयविरुद्ध दायर भएको कानुनी चुनौती टुंगिएको छ।











