राजनीतिक सहकार्यमा चुके बालेन, समन्वय अभावको मूल्य चुकाउँदै जनता

१५ भाद्र २०८३, सोमबार २३:०३

नबराज न्यौपाने
काठमाडौं । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भेटे गरेको तस्विर सहितको समाचार बाहिर आयो । बालेन्द्र शाह र रवि लामिछानेबीचको भेटवार्तामा प्रधानमन्त्रीले राज्यका सबै संयन्त्र सेना, प्रहरी र कर्मचारीहरु परिचालन गरेर उद्धार र राहत वितरण तीव्र पारिएको जानकारी पार्टी सभापति रवि लामिछानेलाई गराएका थिए ।

यही कुराले प्रधानमन्त्री कहाँ कसरी चुके र जनताको अवस्था के होला भनेर सहजै अनुमान गर्न सकिन्छ । राज्यका सबै संयन्त्र परिचालन गरेर सरकार उद्धार तथा राहतमा अहोरात्र खटिएको तथ्य अकाट्य सत्य हो । यससँगै अर्को के सत्य हो भने प्रधानमन्त्रीे राजनीतिक रुपमा सबैसँग सहकार्य गरेका छैनन् भन्न् तथ्य पनि उत्तिकै सत्य हो । यति ठूलो विनासमा जनता चित्कार विश्व ब्रम्हाण्डले सुन्दा पनि राजनीतिक दलहरु सबैलाई साथमा लिएर उद्धार तथा राहतमा खटिन प्रधानमन्त्रीलाई के ले रोक्यो ? बुद्धि नपुगेको कि घमण्डले सीमा नाघेको ? अर्को प्रश्न पनि जन्मिएको छ ।

भदौं १० गते विहान करिब पौने ९ बजेबाट सुरु भएको बाढीको बितण्डापछि प्रधानमन्त्रीले भेटेको पहिलो राजनीतिक नेता हुन् रवि लामिछाने । घट्ना घटेको छैटौं दिन बल्ल आफ्ना पार्टीका सभापतिसँग भेट्ने फुर्सद पाएका प्रधानमन्त्रीले यस अवधीमा परिचालनमै व्यस्त रहनु स्वाभाविक नै हो । तर, यति ठूलो विपत्ति आफू एक्लैले गर्छु भनेर एकलकाट्टे बनेर घोमुखा झै हुने कि राज्यका सबै संयन्त्र, सबै स्टेकहोल्डरसँग मिलेर काम गर्ने अनि त्यसको मुख्य संयोजनको भूमिका आफूले खेल्ने ?

अरु त अरु प्रधानमन्त्रीले आफ्नै पार्टीका नेता कार्यकर्ताहरुलाई समेत संगठित रुपमा परिचालन गर्न असफल बने । घटनाको छैटौं दिनमा बल्ल पार्टीका सभापतिसँग भेटे । त्यसबाहेक अन्य कुनै पनि दलका नेतासँग बालेनले छलफल र सहकार्य गरेका छैनन् । जसको परिणाम नेकपा एमालेले एक करोड २० लाख रुपैयाँ चन्दा उठाउने र आफैले राहत वितरण गर्ने निर्णय गरेको छ ।

बालेन्द्र शाह आफै गैर राजनीतिक चरित्रका भएकोले पनि हुनसक्छ यति ठूलो विपद आउँदा समेत सर्वदलीय बैठक राखेर सबै मिलेर उद्धार तथा राहतमा जुट्नुपर्नेमा त्यस्तो माहौल बनाउन चुकेका छन् । राजनीतिक दल विदेशी शक्ति थिएनन्, उनीहरुसँग सहकार्य गर्न केले रोक्यो । जति बेला देशमा बाढी, भुकम्प जान्छ, २०७२ सालको भुकम्प होस्, कोशीको बाढी होस्, मेलम्चीको बाढी होस् वा अन्य जुनसुकै सबै दलहरु मिलेर आजसम्म सामूहिक रुपमा उद्धार तथा राहतमा खटिएका धेरै उदाहरणहरु छन् । तर यस पटक पहिलो पटक उद्धार तथा राहतमा पुरानादल भनेर बालेन शाह आफैले कित्ताकाट गरे, राष्ट्रिय स्वतन्त्र पार्टीको जीवनमा यो एउटा ऐतिहासिक अभिषाप बनेर पार्टी जीवनभर उभिनेछ ।

जनताले राहत पाइन, अप्ठेरो पर्यो, आफन्त खोज्न ढिलाई भयो भनेर सरकारको विरोध गर्दा घण्टीका अपराधिक मानसिकताका साईबर स्यालहरुले पीडित जनताको आलो घाउमा नूनचुक छर्ने काम गरे । जुन कार्य २१ औं शताब्दीको मानव सभ्यताको एउटा कालो धब्जा हो । सम्भवतः यो सभ्यता रहुन्जेलसम्म यो मानव सभ्यताको कालोधब्बाको इतिहास कोरिएको छ । दुःखद इतिहासका साक्षी अहिलेका बाँचेका सबै बनेका छन् । लाश व्यवस्थापनमा सरकार चुक्यो । त्यसको विरोध गर्दा सत्ता पक्षका समर्थकहरुले आफन्त गुमाएकाहरुलाई यति ठूलो चोट पुर्याएकी लाशलाई विरोध गर्नेको फ्रिजमा लगेर हालिदिऊँसम्म भने । पीडामा परेका जनतामाथि यो तहको अपमान र घृणाको मूल्य एक दिन सबैले चुकाउनुपर्नेछ ।

जनता अहिले निराश छन् । सरकारले राजनीतिक सहकार्य नगर्दा उद्धार तथा राहत वितरणमा भएको ढिलाईको मूल्य सरकार वा दलले होइन जनताले चुकाइरहेका छन् । सरकारी संयन्त्रहरु जनताले चुकाएको मूल्य बुझ्न होइन, कुर्सीमा बस्ने दम्भी, घमण्डीहरुको फर्मान पालना गरिरहेको छ । जुन लोकतन्त्र, आधुनिक समाजको विकासको धज्जी हो ।

जनता पीडामा छन् । तर, केही ठेकेदारहरु पीडामा जनताले पोखेको आक्रोसलाई हिजोको केपी ओलीको शैलीमा प्रतिगाली दिइरहेका छन् । हिजो यस्तै थियो, भदौं २४ गते विहानसम्म केपी ओलीका दलाल कार्यकर्ताहरु उफ्रिएको झझल्को दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले बालेन शाहरुको प्रतिरक्षा गरेकै छन् । आगामी दिनमा पनि अझै गर्नेनै छन् । त्यसैले उनी सोच्छन्, मेरा यत्रा समर्थक छन्, किन चाहियो जनता ? किन चाहियो राजनीतिक पार्टी अनि किन चाहियो अन्य स्टेक होल्डर ?

फेसबुकमा लेख्न र गाली गर्न सजिलो छ र काम गर्न कठिन हुन्छ भन्ने तथ्यले देखाइसकेको छ । छ दिनसम्म सुरुङभित्र थुनिएकाहरुको अत्तोपत्तो लगाउन सकिएको छैन । सुरुङभित्रका नागरिकहरु सातौं दिनदेखि कसरी उद्धार गर्ने कुनै ठोस योजना छैन । रसुवामा बल्ल छैटौंदिन मात्रै राहत पुगेको खवर छ । तीन वटा जिल्लामा बाढी पहिरोबाट प्रभावित भएपनि अन्य जिल्ला त सकुशल नै थिए । चितवन र परासी जिल्लाले एक हजार शव समेत व्यवस्थापन गर्न नसकी गाड्नुपर्ने स्थिति बन्यो । प्रभावित क्षेत्रका हजारौं जनता बेपत्ता छन् । प्रभावित क्षेत्र सञ्चार सम्पर्क विच्छेद छ । अस्पतालमा भएका घाइतेहरुको होस आएकै छैन । अझै ७ दिन मात्रै ति शवहरु राखिएको भए अधिकांश सनाखत हुने अवस्था हुन्थ्यो । तर, सरकार चुक्यो । पाइला पाइलामा चुकिरहेको छ । अझै पनि आत्मग्लानी वा राजनीतिक दलहरुसँग सहकार्य गर्नुपर्दछ भन्ने सामान्य चेत सत्ता र कुर्सीमा बसेकाहरुमा पलाउन सकेको छैन ।

सरकारको अहिलेको कार्यशैली हेर्दा अबका दिनमा कुनै पनि नागरिकले सरकारसँग आशा गर्ने ठाउँ सकिएको छ । यसले आगामी दिनमा लोकतन्त्रप्रतिको गम्भिर निराशा भाव उत्पन्न हुने र कालान्तरमा लोकतन्त्र नै नेपालबाट सदाको लागि विदा गर्नुपर्ने अवस्था उत्पन्न हुने खतरा उत्तिकै छ ।

अर्को अझै खतरनाक बिषय भन्नै पर्छ कि मुलुक अब छिट्टै नयाँ द्वन्दतर्फ जाने खतरा पनि उत्तिकै छ । लास व्यवस्थापन गर्न नसकेको यथार्थ बिषयको विरोध गर्दा कथित रास्वपाका कार्यकर्ताहरुले एक मुख लगाएर जनताका विरुद्धमा खनिदै विरोध गर्नेको घर घरमा लास पठाईदिनुपर्छ भन्ने जस्तो दुश्मनी भावको विकास भएको देखिएको छ । यसले मुलुक अब नयाँ युद्धतर्फ अघि बढेको स्पष्ट हुन आएको छ । भुकम्पमा जुन सामाजिक एकता थियो अहिले त्यो पुरै फुटिसकेको छ । अन्यथा नहोस्, यसैगरी जनतामाथि घृणा गर्ने हो भने गृहयुद्ध कुनै पनि बेला सुरुहुनसक्ने खतरा अगाडि आएको छ ।

Pic: file.

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*