भोटेकोशी बाढीका घाइतेलाई रगत जुटाउँदै हिमालयन लाइफ, हेर्नुहोस् तस्बिरहरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले भदौ १० गते तिब्बततर्फबाट आएको अचानक बाढीका कारण प्रभावित क्षेत्रमा घाइतेको उपचार तथा मानवीय सहयोग आवश्यक भइरहेका बेला सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा कर्मचारी, सञ्चालक तथा पदाधिकारीलगायतको सहभागिता रहेको थियो । विपद्को कठिन परिस्थितिमा घाइते तथा उपचाररत बिरामीका लागि आवश्यक रगतको अभाव हुन नदिन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनाको क्षति भएको छ । बाढी र पहिरोका कारण धेरै नागरिक घाइते भएका छन् भने ठूलो संख्यामा नागरिकको ज्यान गएको छ । प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका काम जारी रहेकाले रगतको आवश्यकता समेत बढिरहेको अवस्थामा कम्पनीले रक्तदानलाई मानवीय सहयोगको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाएको हो ।

विपद्का बेला प्रभावित नागरिकको जीवनरक्षाका लागि सरकारी निकायसँगै निजी क्षेत्र र विभिन्न संघसंस्थाको सहयोग आवश्यक हुने भन्दै हिमालयन लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरेको जनाएको छ













