साउनमै वाणिज्य बैंकको कर्जामा धक्का: एक महिनामै अर्बौंले घट्यो, कुनले कति दिए ऋण ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनामै वाणिज्य बैंकहरूको कर्जा प्रवाह घटेको छ । साउन मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा प्रवाह असार मसान्तको तुलनामा १ अर्ब ७१ करोड रुपैयाँले घटेको हो ।
साउन मसान्तसम्म २० वाणिज्य बैंकले कुल ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म यस्तो कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो । एक महिनाको अवधिमा बैंकहरूको कुल कर्जा प्रवाह ०.०३ प्रतिशतले घटेको देखिन्छ ।
साउनमा २० वाणिज्य बैंकमध्ये १० बैंकको कर्जा प्रवाह बढेको छ भने १० बैंकको घटेको छ । कर्जा प्रवाह बढाउने बैंकमध्ये नबिल बैंक सबैभन्दा अगाडि छ । साउनमा नबिल बैंकको कर्जा प्रवाह ३ अर्ब १६ करोड रुपैयाँले बढेको छ । असार मसान्तसम्म ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा ४ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
कर्जा प्रवाह बढाउने बैंकमध्ये ग्लोबल आईएमई बैंक दोस्रोमा छ । बैंकको कर्जा एक महिनामा ३ अर्ब ८२ करोड रुपैयाँले बढेर ४ खर्ब ८० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा बैंकको कर्जा ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ थियो ।

एनआईएमबीको कर्जा प्रवाह पनि २ अर्ब ३९ करोड रुपैयाँले बढेको छ । असार मसान्तको ३ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँबाट बढेर साउन मसान्तमा ३ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।
लक्ष्मी सनराइज बैंकले साउनमा सबैभन्दा धेरै कर्जा थपेको छ । एक महिनामा बैंकको कर्जा प्रवाह ६ अर्ब १० करोड रुपैयाँले बढेर ३ खर्ब २६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा बैंकको कर्जा ३ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ थियो । प्रतिशतका आधारमा बैंकको कर्जा प्रवाह १.९० प्रतिशतले बढेको हो ।
एभरेस्ट बैंकको कर्जा ५ अर्ब २३ करोड रुपैयाँले बढेको छ । बैंकको कर्जा प्रवाह २ खर्ब ४७ अर्ब ६५ करोड रुपैयाँबाट बढेर २ खर्ब ५२ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह पनि ५१ करोड रुपैयाँले बढेको छ । असार मसान्तमा ७० अर्ब ८२ करोड रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा ७१ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो । बैंकको कर्जा प्रवाह ०.७२ प्रतिशतले बढेको छ ।
एनआईसी एसिया बैंकको कर्जा प्रवाहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । बैंकको कर्जा एक महिनामा ६ अर्ब २८ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ८५ करोड रुपैयाँमा आएको छ । असार मसान्तमा बैंकको कर्जा २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँ थियो । बैंकको कर्जा प्रवाह २.९७ प्रतिशतले घटेको हो ।









