रसुवादेखि चितवनमा विध्वंश गरेको बाढीको कारण ४.५ रेक्टर स्केलको भूकम्प, कहाँ चुक्यो सरकार ?

काठमाडौं । नेपाली समय अनुसार आज विहान ८ः३७ बजेको समयमा चीनको तिब्बत प्रान्तस्थित घिरोङ काउन्टीमा अग्लो हिम श्रृंखलाको फेदमा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भुकम्पको धक्का नेपालतर्फ पनि राम्रैसँग गरिएको स्थानीयबासीले बीमापोष्टलाई जानकारी दिएका छन् । नेपालको भुकम्प मापन तथा अनुसन्धान केन्द्रले पनि गोसाईकुण्डबाट ४७ किमी उत्तरतर्फ आज विहान ८ः३७ बजे ४.५ रेक्टर स्केलको भुकम्प गएको पुष्टी गरेका छन् ।
अमेरिकी भुगर्भ सम्बन्धी संस्था युएसजिएसले आज विहान नेपालको कोदारीबाट गरेको रिपोर्टमा सो भुकम्पको रेकर्ड भेटिएको छ । सो भुकम्प लगत्तै स्थानीय लेन्दे ताल फुट्न गई विशाल पानी र लेदो रसुवा भोटेकोशी खोलामा बाढी आएको प्रारम्भिक रुपमा देखिएको छ । यद्यपि उक्त नदिमा फुटेर आउनसक्ने चीनतर्फ र नेपालतर्फ समेत थुप्रै तालहरु छन् । लेन्दे ताल यसअघि पनि फुट्दा यस्तै बितण्डा मच्चाएको थियो । नेपालबाट चीनतर्फको सो नदिलाई नै लेन्दे नदि पनि भनिन्छ । लेन्दे ताल र नेपाल चीनको सीमा क्षेत्र भन्सार नजिकै पर्छ । यसअघिको पटक यो भन्दा धेरै कम क्षति पुर्याएको भएपनि यस पटक भने विपत्ति नै आउने गरी क्षति पुगेको छ ।

नेपाल चीन सीमा क्षेत्रमा उच्च हिम श्रृंखलाहरु रहेका छन् । आज विहान भुकम्प गएको क्षेत्रमा ७२१५ मिटर अग्लो हिमालको फेदी आसपास भएको पत्ता लागेको छ । उच्च हिमश्रृंखलाको क्षेत्रमा सयौं हिमतालहरु हुने गर्दछन् । भुकम्पको कारण यस्तै मध्येमा कुनै ताल फुटेर लेन्दे तालमा आएर मिसिएका वा सिधैं लेन्दे ताल फुटेर यो बितण्डा मच्चाएको देखिएको छ । बीमापोष्टको सम्पर्कमा आउनु भएकी एक भुगर्भ सम्बन्धी बिज्ञले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा टिमुरे भन्दा माथि तीन वटा हिमताल भएको र उक्त तालहरु मध्ये कुनै ताल नै फुटेर आएको हुनसक्ने जानकारी दिइन् । ति विज्ञले भने, ‘हिमताल फुटेर भुकम्प गएको पनि हुनसक्छ, भुकम्पको कारण हिमताल फुटेको पनि हुनसक्छ ।’ विज्ञका अनुसार अझै थप हिमताल फुट्न सक्ने भएकोले तटीय क्षेत्रमा तत्काल नफर्कन चेतावनी समेत दिएकी छिन् ।
सरकार कहाँ चुक्यो ?
अहिलेको सरकारले अनुभव भएका पुराना कर्मचारीहरुलाई पूर्णतः हतोत्साहित मात्रै गरेको छैन, चीरहरण गरिरहेको छ । यसअघिको बाढीको अनुभव समेत भएका कर्मचारीहरुबाट ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा त्यसमा चुक्न पुगेको छ । बीमापोष्टले केही कर्मचारी र विज्ञहरुसँग कुराकानी गर्न खोज्दा केही विज्ञहरु त बोल्न सम्म डराए । एक विज्ञले भने, ‘अहिले बोल्ने अवस्था छैन, नबोलौं ।’
हिमाली क्षेत्रमा जाने भुकम्पसँगै विपत व्यवस्थापनमा आउन सक्ने चुनौतिहरुबारेमा योजना र रणनीति बनाउन सरकार चुकेको छ । जसका कारण ठूलो धनजनको क्षति हुन पुगेको छ । मानव वस्ती रहित क्षेत्रमा भएको भुकम्पका कारण चीनतर्फबाट आएको बाढीको पूर्व सूचना नेपालले पाउन सकेन । तर, हिमाली क्षेत्रमा गएको भुकम्प, त्यसले हिमतालमा पार्नसक्ने असरबारे समेयमै सचेत भएर चनाखो बनाउन सकेको भएमा क्षति न्यूनिकरण गर्न सकिनेतर्फ ध्यान नपुगेको देखिएको छ ।
भुकम्पको सूचना नेपालले रेकर्ड गरेको देखिएको छ । तर, समुन्द्रमा भुकम्प जाँदा सुनामी आए झै हिम श्रृंखलाहरुको बीचमा भुकम्प जाँदा हिमताल फुट्नेबारे पूर्वानुमानमा सरकार चुक्न पुगेको छ ।









