भारी वर्षापछि देशभरका सडक प्रभावित, दर्जनौं सडकमा आवागमन रोक

काठमाडौं । लगातारको वर्षा र भारीदेखि अति भारी वर्षाको सम्भावनाका कारण देशका विभिन्न जिल्लामा सडक तथा राजमार्गको आवागमन प्रभावित भएको छ। बाढी, पहिरो, सडक भासिने तथा कटानको जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा रातको समयमा सवारी आवागमन रोक लगाइएको छ भने केही सडकखण्ड पहिरो र कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको रातिको आवागमन बन्द गरिएको छ। उक्त सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोक लगाइएको हो। रसुवाको पासाङ ल्हामु राजमार्ग पनि बाढी तथा सडक कटानका कारण पूर्ण रूपमा अवरुद्ध छ। त्रिशूली नदीले सडकको ठूलो भाग कटान गरेपछि त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी जाने मुख्य सडक सञ्चालनमा आउन सकेको छैन। स्याफ्रुबेँसीसम्म पुग्न टोखा–छहरे हुँदै विदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पाच्र्याङ, भोर्ले, कालिकास्थान, स्याउबारी, राम्चे, धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्ने एकतर्फी कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ।
सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहित जिल्लाका अन्य भित्री सडकमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधन तथा पैदल यात्रुको आवागमनमा रोक लगाइएको छ। दाङमा पनि भारीदेखि अति भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभिन्न सडकमा रातिको समयमा आवागमन बन्द गरिएको छ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकको भालुवाङ–गनाहा खोला खण्ड, घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकको तुलसीपुर–कालीमाटी खण्डमा आवागमन रोक लगाइएको हो।
रोल्पामा मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा नगरपालिका–७ माडिचौर सडकखण्डमा भारी वर्षाका कारण उच्च जोखिम देखिएपछि सवारी आवागमन रोकिएको छ। धादिङमा पृथ्वी राजमार्गका कृष्णभीर, टिङराङखानी र परेवा भीर क्षेत्रमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। भोजपुरमा पनि सुरक्षा समितिको निर्णयअनुसार साँझदेखि बिहानसम्म भित्री तथा सहायक सडकमा आवागमन बन्द गरिएको छ। मध्यपहाडी लोकमार्गमा भने अत्यावश्यक सवारीसाधनलाई प्रहरीसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
मनाङमा बेंसीसहर हुँदै खाङसार तथा लमजुङको सीमादेखि खाङसारसम्मको सडकमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ। त्यस्तै, मनाङकै चामे–बेंसीसहर सडकखण्डमा नासों गाउँपालिका–३ खोत्रो क्षेत्रमा ढुंगासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशका अन्य जिल्लामा पनि सडक आवागमनमा समय निर्धारण गरिएको छ। चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको थियो। धादिङमा पृथ्वी राजमार्गमा पनि सोही समयमा आवागमन बन्द गरिएको छ।
मकवानपुरमा कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जाने सडकमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइएको छ। सिन्धुलीमा बीपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ। दोलखामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सबै सडकखण्डमा आवागमन रोकिएको छ। काभ्रेमा बीपी तथा अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीसाधनलाई बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ। सिन्धुपाल्चोकमा पनि पृथ्वी लोकमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ।
यसैबीच काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएपछि साना सवारीसाधन र मोटरसाइकल सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवागमन गर्न नसक्ने अवस्था छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित भँडारे खोलामा लेदोसहितको बाढी आएर सडकमा क्षति पुर्याएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। करिब १५ मिटर सडकमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।










