काठमाडौंमा फोहोर संकलन प्रभावित हुन सक्ने, सडकमा नफाल्न महानगरको आग्रह

९ आश्विन २०८३, शुक्रबार १२:१९

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाले केही समय फोहर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ। महानगरपालिकाले ल्याण्डफिल साइटमा समेत पहिरो गई लेदोसहितको माटो खसिरहेको भन्दै फोहर व्यवस्थापनमा असहजता उत्पन्न भएको जनाएको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरो आएको र त्यसको असर फोहर ढुवानी तथा ल्याण्डफिल साइटमा फोहर विसर्जन गर्ने काममा परेको जनाएको छ।

महानगरले फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहर आफ्नै परिसरभित्र सुरक्षित रूपमा राख्न आग्रह गरेको छ। साथै सड्ने तथा नसड्ने फोहर छुट्याएर सुरक्षित रूपमा व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ।

सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा अन्य खुला स्थानमा फोहर नफाल्न महानगरले विशेष आग्रह गरेको छ। सडकमा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत समस्या हुन सक्ने महानगरले जनाएको छ। वर्षा र ल्याण्डफिल साइटको अवस्था सामान्य भएपछि फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*