२१ हजारको ल्युब आयल किन्दा १० लाखको बम्पर उपहार

१६ आश्विन २०८३, शुक्रबार १५:४३

काठमाडौँ ।  करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा गरिएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका हुन्।

नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँ राशिको १५ दिने बम्पर उपहार जितेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।

उपहार विजेता कानुलाई तत्कालै फोन सम्पर्क गरी आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले बधाई दिएका थिए। महानिर्देशक भूसालले पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा सहभागी भई बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।

योग्य कारोबारमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताको संख्या २ लाख ४७ हजार ९७९ रहेको थियो। यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*