शेयर बिक्री गरेर एक्जिट हुँदै लगानीकर्ताः कारोबार समेत खुम्चियो, के होला आगामी यात्रा ?

काठमाडौँ । तीन दिनको लगातार गिरावटपछि हिजो झिनो सुधार देखिएको शेयर बजार पुनः ओरालो लागेको छ । बजार सुधारका लागि नीतिगत पहल भइरहे पनि त्यसको प्रभाव अपेक्षाअनुसार देखिन सकेको छैन । प्रतिनिधि सभाको अर्थसमितिमा नियामक निकाय, लगानीकर्ता तथा सरोकारवालाबीच बजार सुधारका विषयमा छलफल भइरहेका बेला लगानीकर्ताको मनोबल भने कमजोर देखिएको हो । सरकारले अघि सारेको २१ बुँदे राहत तथा सुधार प्याकेज, पुँजीगत लाभकरमा गरिएको कटौती तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंका कम गर्ने प्रयास भए पनि त्यसले तत्काल बजारमा उत्साह ल्याउन सकेको छैन ।
दशैं नजिकिँदै जाँदा लगानीकर्ताले शेयर बिक्री गर्न थालेपछि बजारमा बिक्री चाप बढेको देखिएको छ । चाडपर्वका लागि आवश्यक घरायसी तथा अन्य खर्च व्यवस्थापन गर्न केही लगानीकर्ताले आफ्नो शेयर बेच्न थालेका छन् । बजारमा नयाँ रकम भित्रिने गति कमजोर रहेको अवस्थामा बिक्रीको दबाब थपिँदा शेयरमूल्यमा सुधार आउन कठिन भएको बजार सहभागीहरू बताउँछन् । त्यसमाथि ठूला लगानीकर्ताको लगानी स्रोत र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा देखिएको चासोका कारण ठूलो रकम परिचालन गर्ने लगानीकर्ता थप सचेत बनेका छन् ।
नेपाल राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित केही व्यवस्थामा लचकता अपनाउनुका साथै नेपाल धितोपत्र बोर्डले पनि बजार सुधार र लगानीकर्ताको विश्वास बढाउने प्रयास गरिरहेको छ । लामो समयको गिरावटपछि कतिपय कम्पनीका शेयरमूल्य आकर्षक तहमा पुगेका छन् भने सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश घोषणा गर्न थालेका छन् । यद्यपि, पछिल्लो बाढीपहिरोबाट व्यवसायमा पर्न सक्ने असर, बजारप्रतिको अनिश्चितता, दशैं खर्च व्यवस्थापन र नयाँ मागको कमीका कारण लगानीकर्ता तत्काल ठूलो रकम लगानी गर्न तयार देखिएका छैनन् । वित्तीय अवस्था बलियो भएका कम्पनी, लाभांश क्षमता र घटेको शेयरमूल्यलाई आधार बनाएर अवसर खोजिए पनि शेयर बिक्रीको चापका कारण बजारले तत्काल बलियो सुधारको गति लिन सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९० अकंले घटेर २५८७.२५ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोडको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज म्युचुअल फण्ड समूह र व्यापार समूहको शेयर मूल्य मात्रै बढेको हो ।
शुक्रबार ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












