प्रभु बैंकका सीईओ किन भए बेपत्ता ?

१५ आश्विन २०८३, बिहीबार १५:४३

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा सम्पर्कविहीन भएका छन् । हिजो असोज १४ गते बैंकलाई इमेलमार्फत आफू फोर्स लिभमा बसेको सूचना पठाउँदै मोबाइल अफ गरेर अनलाईन प्लेटफर्महरु बन्द गरेर बेपत्ता भएका हुन् ।

शर्मालाई सञ्चालक समितिको २०८२ माघ २० गते देखि लागू हुने गरी ४ वर्षको कार्यकालका लागि सिइओ नियुक्त गरेको थियो । शर्माको बेपत्ताको कारण पछिल्लो समय उनीविरुद्ध पर्सा जिल्ला अदालतमा दायर भएको फौजदारी मुद्दासँग जोडिएको देखिएको छ । तत्कालीन सनराइज बैंकमा रहँदा अञ्जली इन्टरनेशनललाई कर्जा स्वीकृत गर्ने प्रक्रियामा भएको भनिएको अनियमिततालाई लिएर उनीसहित चार जनाविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी अभियोग दर्ता भएको हो ।

अभियोगमा शर्मासँगै तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई प्रतिवादी बनाइएको छ । उनीहरू हाल फरार रहेको उल्लेख गर्दै अदालतबाट म्याद जारी गर्न माग गरिएको छ । अभियोगसँगै पक्राउसम्बन्धी अनुमति तथा अन्य आवश्यक कागजातसमेत पेश गरिएको बताइएको छ ।

मुद्दाको पृष्ठभूमि वीरगन्जस्थित अञ्जली इन्टरनेशनलले बैंकसँग माग गरेको थप कर्जासँग सम्बन्धित छ । व्यवसाय विस्तारका लागि कम्पनीले थप ऋण माग गरेपछि बैंकको केन्द्रीय कार्यालयबाट २०८० वैशाखमा करिब ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको अभियोगपत्रमा उल्लेख छ ।

स्वीकृत कर्जाका लागि थप सुरक्षणका रूपमा ८९ लाख रुपैयाँ बराबरको जग्गा बैंकको पक्षमा धितो राखिएको थियो । कम्पनीकी सञ्चालक निर्मला देवीका छोरा सुनिलकुमार साह तेलीको नाममा बाराको अमावस्थित कित्ता नम्बर २९९ को जग्गा बैंकमा धितोबन्धक गरिएको विवरण अभियोगपत्रमा समेटिएको छ ।

धितोबन्धक भइसकेपछि पनि स्वीकृत कर्जाको रकम खातामा नआएको अञ्जली इन्टरनेशनलको पक्षको दाबी छ । कम्पनीले बैंकका सम्बन्धित अधिकारीसँग पटक–पटक रकम उपलब्ध गराइदिन आग्रह गरेको र रकम चाँडै पठाइदिने आश्वासन पाए पनि व्यवहारमा कर्जा रकम प्राप्त नभएको आरोप लगाइएको छ ।

यसै घटनालाई आधार बनाएर जाहेरवालीले बैंकका अधिकारीहरूबीच मिलेमतो भएको आरोप लगाएकी छन् । कर्जा स्वीकृत गराई जग्गा बैंकको सुरक्षणमा लिए पनि स्वीकृत रकम उपलब्ध नगराएर आफू र कम्पनीलाई आर्थिक क्षति पुर्‍याइएको उनको दाबी छ ।

सरकारी वकिलको कार्यालयले अभियोगपत्रमार्फत पीडित पक्षलाई बिगो तथा क्षतिपूर्ति दिलाउनसमेत माग गरेको छ । धितो राखिएको जग्गासँग सम्बन्धित ८९ लाख रुपैयाँ प्रतिवादीहरूबाट असुल गरी जाहेरवालीलाई भराउन माग गरिएको छ ।

यसअघि पनि प्रभु बैंकमा कर्जा हिनामिनासम्बन्धी आरोपमा उच्च व्यवस्थापनका अधिकारीहरू अनुसन्धानको दायरामा आएका थिए । तत्कालीन सीईओ अशोक शेरचनसहितका अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको घटना पनि बैंकिङ क्षेत्रमा चर्चामा आएको थियो ।

अहिले भने बैंककै वर्तमान नेतृत्वमा रहेका शर्मा सम्पर्कविहीन बनेपछि प्रभु बैंकको व्यवस्थापन र उनको आगामी भूमिकाबारे नयाँ प्रश्न उठेको छ । उनीविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको र अभियोगपत्रमा फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको अवस्थामा तत्काल कार्यालय फर्किने अवस्था नरहेको देखिन्छ । उनी अब प्रहरीको फरार सूची रहेको हुँदा कार्यालय फर्किन मिल्दैन ।

नेपाल राष्ट्र बैंकको इन्स्पेक्सन लगत्तै आजदेखि प्रभु बैंकका सिईओ फोर्स लिभमा

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*