पूर्वीचौकी गाउँपालिकाका वडा अध्यक्षको बदमासी, झुट्टा विवरण पेश गरेर लिए भ्रमण भत्ता

काठमाडौँ । पूर्वीचौकी गाउँपालिकाका पदाधिकारीले कार्यपालिकाको बैठकमा उपस्थित भएको मितिमै जिल्ला बाहिर तथा जिल्ला सदरमुकाममा भ्रमण गरेको देखाउँदै भ्रमण आदेश स्वीकृत गराई दैनिक भ्रमण भत्ता लिएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो भुक्तानी नियमविपरीत देखिएको भन्दै ८८ हजार ६०० रुपैयाँ असुल गर्नुपर्ने औँल्याइएको हो ।
प्रतिवेदनअनुसार गाउँपालिकाका विभिन्न पदाधिकारीले कार्यपालिकाको बैठकमा उपस्थित भएको मितिसँगै मिल्ने अवधिमा भ्रमण गरेको देखाई भ्रमण आदेश स्वीकृत गराएका थिए। त्यसपछि भ्रमण बिल पेस गरी दैनिक भ्रमण भत्ताबापत रकम भुक्तानी लिएको देखिएको हो।
महालेखाले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न १० वटा भ्रमण विवरणबाट पदाधिकारीलाई कुल ८८ हजार ६०० रुपैयाँ भुक्तानी गरिएको छ। तालिकामा वडा अध्यक्ष खडकबहादुर साउद, प्रेमबहादुर खड्का, मोहन थापा, खडकबहादुर धामी र अंकबहादुर खड्कालगायतका पदाधिकारीको नाम उल्लेख छ।

महालेखा परीक्षकको कार्यालयले भने नियमविपरीत सुविधा लिएको रकम यकिन गरी ८८ हजार ६०० रुपैयाँ असुल गर्नुपर्ने औँल्याएको छ। भ्रमण खर्च नियमावली, २०६४ को नियम २३ मा नियमावलीबमोजिम पाउने सुविधा लिने प्रयोजनका लागि भ्रमण गर्ने कुनै पदाधिकारी वा कर्मचारीले झुट्टा विवरण पेस गरी भुक्तानी लिएको ठहरेमा झुट्टा विवरण पेस गरी भुक्तानी लिएको रकमको दोब्बर रकम असुलउपर गरी निजलाई कारबाहीसमेत गरिने व्यवस्था छ।
सम्बन्धीत समाचारः











