लगातार बढेको शेयरबजारमा लाग्यो ब्रेक, लगानीकर्ताले नाफा बुक गर्दा साढे ७ अर्बको कारोबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै लगातार हरियाली छाएको नेप्से इन्डेक्समा आज ब्रेक लागेको छ । शेयरबजार खुलेको केही समयसम्म बढेको शेयरबजार मार्केट क्लोज हुँदासम्म २१.३५ अंकले घटेर इन्डेक्स २१९० विन्दुमा कायम भएको छ ।
आज प्रतिनिधिसभामा प्रधामन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने क्रममा कांग्रेसका सभापति शेर बहादुर देउवाले विश्वासको मत दिएसँगै एकाएक शेयरबजार घट्न पुगेको हो । यसअघि शेयरबजारमा भारी गिरावट आउँदा नेपाली काँग्रेसको सरकार अर्थात् देउवा प्रधानमन्त्री थिए ।
शेयरबजारमा एकाएक करेक्शन देखिदा आज नेप्सेमा सूचीकृत २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आएपनि आज अघिल्लो दिन बढेको शेयरबजार गर्दा लगानीकर्ताहरुले नाफा बुक गरेका कारण कारोबार रकम ह्वात्तै बढ्न पुगेको हो । नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज बैकिङ्ग इन्डेक्स र म्युचुअल फण्ड इन्डेक्स बाहेकका सबै सूचक राताम्य छन् । बैकिङ्ग सूचक आज ०.६० प्रतिशतले बढेको छ भने सर्वाधिक वित्त सूचक ४.३१ प्रतिशतले घटेको छ ।












