क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड, विशेष छुट र आकर्षक अफर

काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा नयाँ उत्पादन, अफर र ज्ञानवद्धक स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । मंगलबार सुरु भएको यो सूचना सञ्चार प्रविधिको ठूलो प्रदर्शनीलाई लक्षित गरी विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रबर्द्धन गर्दै विशेष छुट र अफर घोषणा गरेका छन्।
प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको छ।
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजक इन्फोडेभलपर्स प्रालिले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ‘पुमोरी’को विशेष प्रबर्द्धन गरेको छ। तीन दशकदेखि बैंक तथा वित्तीय क्षेत्रमा पुमोरी सफ्टवेयर प्रयोग हुँदै आएको छ। साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रडक्टको पनि प्रदर्शनी गरिरहेको छ।

त्यस्तै इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेटले ‘चल्छ हैन दौडिन्छ, घरको कुना कुनामा’ नारा सहित आफ्नो ब्रोडब्यान्ड इन्टरनेट र आईपी टिभीका विभिन्न प्याकेजको विशेष प्रबर्द्धन गरेको छ । यसअन्तर्गत कम्पनीले ५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका इन्टरनेट प्याकेज ल्याएको छ ।
मेलाको डायमन्ड स्पोन्सर रहेको नेपाल टेलिकमले अवलोकनकर्तालाई निःशुल्क सिम वितरण गरिरहेको छ । साथै टेलिकमले स्टलबाटै ईसिम अपग्रेडको सेवा पनि दिइरहेको छ भने हालै ल्याइएको एनिभर्सरी अफरबारे ग्राहकलाई जानकारी दिइरहेको छ ।
त्यस्तै गोल्ड स्पोन्सर माया एनिमेसन एकेडेमीले इन्फोटेक अवलोकन गर्नेहरूका लागि एनिमेसन, भीएफएक्स, मोसन ग्राफिक्स, मुभी एडिटिङ, ग्राफिक्स डिजाइनिङ, अटो क्याड लगायतका कोर्षमा ५० प्रतिशतसम्मको छुट घोषणा गरेको छ ।
मेलाको टिकेटिङ पार्टनर पेवेलले आफ्नो एपमार्फत क्यान इन्फोटेकको टिकट रु। २५ मै उपलब्ध गराइरहेको छ । साथै पेवेलले आफ्नो क्यूआर भुक्तानी सेवासमेत क्यान इन्फोटेककै अवसर सार्वजनिक गरेको छ।
मोबाइल सेवाप्रदायक एनसेलले निःशुल्क सिम वितरणको योजना सञ्चालन गरिरहेको छ । साथै एनसेलले ‘होम एन्ड अवे’ डेटा प्याकेजबारे पनि जानकारी दिइरहेको छ ।
यस्तै, मेलामा इन्टरनेट सेवाप्रदायक भायानेट, सुबिसु लगायतका कम्पनीहरूले अवलोकनकर्ताका लागि भन्दै विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन । छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिन सक्ने सुविधाहरु राखिएको छ ।
त्यस्तै कान्तिपुर सिटी कलेजले क्यान इन्फोटेकको अवसर पारी विभिन्न कोर्षमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ । त्यस्तै इसेट एन्टिभाइरसमा ६० प्रतिशत छुट घोषणा गरिएको छ ।
त्यस्तै, मिडियाबाट प्रतिनिधित्व गर्दै बीमापोष्टले मेलामा उपस्थिती जनाएको छ । मेलामा बीमापोष्टले वित्तिय साक्षताको साथ साथै उपहार स्किमको समेत व्यवस्था मेलामा गरेको छ ।












