निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३०% हिस्सा मोटर बीमाको, अन्य कुुन क्षेत्रमा कति ?

२६ जेष्ठ २०७९, बिहीबार ११:५४

काठमाडौं । बीमा समितिले चालु आर्थिक बर्षको १० महिनासम्ममा २ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर बीमाबाट बैशाख महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ७६ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३०.२२ प्रतिशत हो।

मोटर बीमा पछि निर्जीवन बीमा कम्पनीहरुले इन्जिनियरिङ्ग बीमाबाट सबैभन्दा धेरै बीमाशुल्क आर्जन भएको तथ्यांकले देखाएको छ। इन्जिनियरिङ्ग बीमाबाट ५० करोड ९० लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमाहरुले आर्जन गरेको कुल बीमाशुल्कको २०.१६ प्रतिशत हुन आउछ ।निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा सम्पत्ती बीमाको पनि १९.६७ प्रतिशत अर्थात ४९ करोड ७० लाख रुपैयाँ योगदान रहेको छ।

त्यस्तै, विविध बीमाको १४.०८ प्रतिशत, कृषि तथा पशुपन्क्षी बीमाको ६.८० प्रतिशत, समुन्द्रिक बीमाको ६.८० प्रतिशत र हवाई बीमाको २.५३ प्रतिशत योगदान रहेको छ ।
लघुबीमाको भने सबैभन्दा कम ०.१४ प्रतिशत मात्रै योगदान रहेको छ । यस अवधिमा लघुबीमा बापत निर्जीवन बीमा कम्पनीहरुले ४० लाख रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका छन् ।


त्यसैगरी, निर्जीवन बीमा व्यवसायमा बीमा समितिको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले बागमति प्रदेशबाट मात्रै १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

बागमति प्रदेशपछि प्रदेश १ मा निर्जीवन बीमा व्यवसाय विस्तार भएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रदेश १ बाट २३ करोड बढी बीमाशुल्क आर्जन भएको छ। लुम्बिनी प्रदेशबाट पनि निर्जीवन बीमा कम्पनीहरुले २१ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यस्तै निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा मधेश प्रदेशको ५.६२ प्रतिशत, गण्डकी प्रदेशको ५.०७ प्रतिशत र कर्णाली प्रदेशको २.१५ प्रतिशत योगदान रहेको छ ।
सबैभन्दा कम बीमाशुल्क भने सुदूरपश्चिम प्रदेशबाट संकलन भएको बीमा समितिको तथ्यांक छ ।सुदूरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले ५ करोड ४१ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*