दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईको घोषणा

५ असार २०७९, आईतवार १३:१२

काठमाडौं । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् ।

आइतबार बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा प्रसाईंले पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

दुबईका राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र प्रसाईंबीच यस विषयमा आपसी समझदारी पनि भएको दाबी गरिएको छ । दुबई सरकारले त्यहाँ मेडिकल कलेज खोल्न प्रसाईंलाई सहयोग गर्ने समझदारी साटासाट गरेपछि जानकारी दिइएको छ ।

‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्, बिएण्डसी दुबई भनेर म त्यहाँ मेडिकल कलेज खोल्छु,’ प्रसाईंले कार्यक्रममा भने, ‘हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं ।’

देशका प्रधानमन्त्रीले गर्नुपर्ने काम आफूले गरेको दाबी गर्दै प्रसाईंले निकट भविष्यमा दुबईमा बिएण्डसी मेडिकल कलेज स्थापना हुने बताए । ‘मरूभूमि रहेको सहरलाई त्यहाँका राजाहरूले कस्तो बनाइदिए? आज त्यहाँ संसारभरका मानिस रोजगारी गर्न जान्छन्,’ प्रसाईंले भने ।
युएईका राजकुमारसँग मिलेर काम गर्न पाउँदा गौरब लागेको भन्दै प्रसाईंले राजाहरूलाई ‘विष्णुको अवतार’ मानिने गरेको र आज आफूले मक्तोउमलाई त्यही रूपमा पाएको बताए ।

मैले नेपालमा मेडिकल कलेज खोल्न खोज्दा यहाँका विद्वान मानिसहरू, पत्रकारहरू लागेर असफल पारिदिए,’ प्रसाईंले भने । यसअघि पूर्वाञ्चल क्यान्सर अपतालले ३६ करोडको लागतमा खरिद गरेको क्यान्सर उपचारमा प्रयोग हुने ‘पेट सिटिस्क्यान’ मेसिनको राजकुमार मक्तोउमले उद्घाटन गरेका थिए ।राजकुमार मक्तोउम् तीन दिने भ्रमणका लागि शनिबार काठमाडौं हुँदै झापा आइपुगेका थिए। प्रसाईंको निमन्त्रणामै उनी झापा आएका थिए।

राजकुमार मक्तोउम् झापाबाट पोखरा र त्यहाँबाट काठमाडौं हुँदै युएई फर्किने कार्यक्रम छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*