प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनु हुने, दिउँसो १ बजे संसद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिनु हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ । यसअघि दिउँसो ११ बजे बोलाइएको संसद् बैठक २ घण्टा ढिलो सारिएको छ ।
यही पुस १० नेपालको संविधानको धारा ७६ (२) बमोजिम दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । यो धारा बमोजिम प्रधानमन्त्री नियुक्त हुनेले संविधानको धारा ७६ ९४० बमोजिम संसद्मा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
संविधानको धारा ७६ ९२० मा प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
सोहीबमोजिम नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहालले १६९ जना सांसद्को समर्थनको दाबी प्रस्तुत गर्नुभएको थियो । दाहाललाई नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टीलगायतले समर्थन गरेका थिए ।












