६ महिनामा रिटेल पेमेन्ट स्वीच मार्फत १८ खर्बको भुक्तानी

९ माघ २०७९, सोमबार ११:३५

काठमाडौं । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९।८० को पौष मसान्त सम्म १८ खर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ ।

उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

रिटेल पेमेन्ट स्वीचबाट हाल दैनिक औसत १३.३० अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ । जसअन्तर्गत ६० प्रतिशत बराबरको कारोबार नेसनल पेमेन्ट इन्टरफेस (एनपीआइ) मार्फत हुने गरेको छ । नेसनल पेमेन्ट स्वीच अन्तर्गतको आरपीएसमार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणबीच अन्तरआबद्धता कायम गरिएको छ ।

आरपीएसअन्तर्गत रकम ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ, वालेट, कनेक्टआइपीएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआइमार्फत उपलब्ध रहेको एनसीएचएलले जनाएको छ ।

आरपीएसमा हाल ५५ बैंक तथा वित्तीय संस्था सदस्यका रुपमा आबद्ध छन्। भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार २० लाख रुपैयाँसम्मको भुक्तानी तथा सोही बैंक तथा वित्तीय संस्थाको हकमा १ करोड रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ ।

आरपीएसअन्तर्गत रहेका कनेक्टआइपीएसको वेबमार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले कनेक्टआइपीएसमा आफ्ना एक वा सोभन्दा बढी बैंक खाताहरु लिंक गरी एकै प्लाटफर्ममार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*