अर्थमन्त्रीसंग नाडाको भेटघाट तथा छलफल, सुस्ताएको अटोमोवाइल्स व्यवसायलाई गतिशिल बनाउन माग

१० माघ २०७९, मंगलवार १३:५८

काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको छ । सो छलफलको क्रममा उपप्रधानमन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरेको सन्दर्भमा त्यसबारे आउदो बजेट सम्बन्धी छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गरिने आश्वासन दिए ।

अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गरेको सन्दर्भमा माननीय उपप्रधान मन्त्रीबाट सो प्रतिक्रिया आएको हो ।

सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले आयातमा एल.सि खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको र सरकारले ८ महिना देखि नीजि प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएकोे प्रतिवन्ध पनि केही समय अघि फुकुवा गरेकोमा धन्यवाद तथा आभार व्यक्त गर्दे सरकारको हालको योे निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बतााए ।

त्यसैगरी सो भेटघाटमा अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था विद्यमान नै छ, अहिले लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी समेत गुमाईरहेको मात्र छैन नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि करिव ३००० सवारी साधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था छ भन्नु हुदै यस्तो जटिल स्थितिको समुचित समाधानका लागि आग्रह गरे ।

सो छलफलमा अध्यक्ष थापाले अटो लोन।हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग गरे । सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेच लोन प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरिनुपर्ने र चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुको संशोधनका लागि समेत अनुरोध गरे ।

त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले नेपालमा भारतसंगको व्यापारलाई सहज बनाउन र भारतिय लगानीलाई आकर्षित गर्न इन्डियन इकोनोमिक जोन स्थापना गरिनु पर्ने, नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तैै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।

सो छलफलमा महासचिव उपे्रतिले काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि समेत आग्रह गरे । छलफलको अन्त्यमा माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरुका सम्बन्धमा सरकार गम्भिर रहेको र ती मागहरुको सम्बन्धमा पहल समेत भईरहेको जानकारी दिए । उक्त भेटघाट तथा छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत, र सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*