क्यान इन्फोटेकमा नयाँ प्रविधितर्फ आकर्षित, फरक–फरक विषयमा आईसीटी सेमिनार

२७ माघ २०७९, शुक्रबार १७:२५

काठमाडौं । क्यान इन्फोटेकको २८ औँ संस्करण ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी माघ २४ गतेदेखि संचालन भइरहेको छ । आईतबारसम्म चल्ने मेलामा अवलोकनकर्ताको भिड अत्याधिक रहेको छ।
भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनकोबजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ ।

शुक्रबार मेलाको चौथौ दिन सकिँदा अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनीहरुले क्यान इन्फोटेक विशेष अफर तथा स्किम ल्याउने क्रम बढेको छ ।कम्पनी तथा ब्राण्डहरुले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन् । साथै नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा अवलोकनकर्ताको चासो बढेको छ।

विशेषगरी कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता धेरै रहेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।उनले विगतका इन्फोटेकको तुलनामा यसपाली युवाहरूको क्रेज बढेको समेत बताए । प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति छ । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा पावर सोलुसन्स लगायत छन्।

क्यान इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श, कोडिङ च्यालेन्ज तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् । आयोजक क्यान महासंघले पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा नियमित रुपमा विभिन्न अनलाइन कन्टेस्ट आयोजना गरी सूचना प्रविधिप्रेमी व्यक्तिहरूलाई निःशुल्क प्रवेश टिकेट र उपहारहरू प्रदान गरिरहेको छ । दैनिक रुपमा देखिने चिजबिजमा भन्दा अवलोकनकर्ताको रोजाइ रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङ लगायतका नयाँ प्रविधिमा बढी देखिएको छ ।

त्यस्तै मेलामा राखिएका नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य छ । मेलामा स्टार्टअप प्याभिलियनमा २० भन्दा बढी कम्पनी सहभागी छन् ।त्यस्तै इन्फोटेकमा राखिएको कलेज प्याभिलियनमा विद्यार्थीका आइडिया र परियोजना समावेश छन् । क्यान इन्फोटेकलाई सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गरेका छन् । यस अन्तर्गत बिहीबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णली प्रदेश मन्त्री विद्युतीय सुशासन आयोगका सिईओ दीपेश विष्ट सहित विभिन्न क्षेत्रका अधिकारीहरू, कलाकार तथा सूचना प्रविधिप्रेमीहरुले मेला अवलोकन गरेका थिए ।

१५० भन्दा बढी स्टल रहेको मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क, एनिमेशन मल्टीमिडिया जस्ता उत्पादनका स्टल समेत छन् । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् । क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीहरुलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष रणजीत पोदारले बताए । क्यान इन्फोटेक तथा कन्फ्रेन्सबाट सरकारले लिएको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने उनको विश्वास छ ।

त्यसैगरी, फरक–फरक विषयमा आईसीटी सेमिनार पनि सुरु संचालन गरिएको छ। यसअन्तर्गत बिहीबार ‘नेपालमा ब्लकचेन’ र ‘फिनटेक एन्ड क्रस बर्डर इनवार्ड पेमेन्ट्स एन्ड रेमिटेन्स’ विषयमा सेमिनार भएको थियो।
यी सेमिनारले क्यान इन्फोटेकलाई सूचना प्रविधिको प्रदर्शनीसँगै सरोकारवालाहरूबीच सार्थक अन्तर्क्रिरया गराउने विश्वास लिइएको छ । प्रोडक्ट र बिजनेसलाई मात्र नभएर नेपालीहरूको ज्ञान, विज्ञताहरूलाई पनि विभिन्न सेमिनारमा प्लाटर्फम दिएर उनीहरूको ज्ञानलाई विश्वमा कसरी लैजान सकिन्छ भन्ने विषयमा सेमिनार भइरहेको महासंघका महासचिव अधिकारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*