बालाजु बसपार्क क्षेत्र तनावग्रस्त, हात उठाएर सडकमा हिड्दै सर्वसाधारण

काठमाडौं । सोमबार दिउँसोबाट काठमाडौंको बालाजु बसपार्क क्षेत्र तनावग्रस्त बन्यो। यातायात मजदुरको आन्दोलन भड्किँदा सर्वसाधारणले क्षति र सास्ती बेहोर्नु पर्यो। २० जना प्रहरी घाइते भए भने प्रहरीका २ वटा गाडी जले। अस्थायी प्रहरी बिट आन्दोलनकारीले भत्काइदिए। आज साझ लोट्स मार्टमा आन्दोनकारीहरुले क्षती समेत गरेका छन् ।
सर्वसाधारणको क्षतिको भने विवरण प्राप्त भइसकेको छैन। तर साँझ त्यस क्षेत्रबाट सर्वसाधारण संकटकालमा जस्तै हात उठाएर घर फर्किनु परेको छ। सुरुमा आन्दोलनकारीले ढुंगामुढा र आगजनी गर्दा प्रहरी निरीह देखिएको थियो। साँझ प्रहरीले बल प्रयोग गर्न थालेपछि सर्वसाधारणले जोगिन हात उठाएर घर फर्किनु परेको हो।
सवारी साधन ठप्प भएपछि त्यस क्षेत्रबाट सयौंको संख्यामा सर्वसाधारण दुवै हात उठाएर फर्किएका हुन्। यातायात मजदुरहरु सोमबार दिउँसो पनि सरकारसँग वार्तामै थिए। यसअघि आइतबार पनि वार्ता भएको थियो र वार्ता सकारात्मक थियो। दुवै पक्ष एक हप्ताभित्रमा माग सम्बोधन गर्न सहमत भएका थिए। नमिलेका केही विषयमा थप छलफल गर्ने भनेका थिए।
आन्दोलनले उग्र रुप लिएपछि ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। यातायात मजदुरले मंगलबार उपत्यकामा सवारीसाधान नचलाउने घोषणा गरेका छन्। सरकारले भने मजदुरलाई वार्तामा बोलाएको छ।












