राष्ट्रिय बीमा संस्थान ५६ औं वर्षमा, भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुन अझै बाँकी

११ फाल्गुन २०७९, बिहीबार ०९:१९

काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५५ बर्ष पूरा गरी ५६ औं बर्षमा प्रवेश गरेको छ । सरकारी लगानीको संस्थानमा राजनीतिक आधारमा नियुक्ती खाने अनि सरकारी कर्मचारी र जनताले बचत गरेको अर्बौ रुपैयाँमा भ्रष्टाचार गर्ने तथा सुशासन कायम गर्न भने अझै बाँकी छ ।

बीमा संस्थान ऐन अनुसार ५५ वर्षअघि स्थापना भएको कम्पनीलाई केही वर्ष अघि मात्रै स्थापना भएको निजि कम्पनीहरुले धेरै नै पछाडि छोडेर अघि बढिसकेका छन् । भारतमा सरकारी लगानीको एलआईसीले देशको कूल बजेटभन्दा ठूलो आकारको जीवन बीमा कोष बनाइसकेको छ भने नेपाल सरकारको लगानी रहेको र कर्मचारीहरुको जीवन बीमा सबै संस्थानमा पठाउँदा समेत समेत निजि कम्पनीहरु भन्दा संस्थान निकै पछाडि छ । अस्थिर राजनीतिको सिकार भएको संस्थानमा अर्थमन्त्रीले राजनीतिक भर्तीकेन्द्र बनाउँदा जीवन बीमाको व्यवसायमा अब्बल कम्पनी बन्न सकेको छैन ।

सरकारी कम्पनी भएर पनि आधा दर्जन आर्थिक वर्षको वित्तीय विवरण पारित हुन बाँकी छ भने लेखापरिक्षण नभएको धेरै वर्ष भइसकेको छ । सरकारी कर्मचारीहरुको जीवन बीमाको सबै शुल्क नागरिक लगानी कोषमार्फत संस्थानमा पठाउने गरिएको छ । नेपालका हालसम्मकै सबैभन्दा पुरानो कम्पनी भएर पनि अन्य कम्पनीहरुको तुलनामा पछाडि परेको संस्थानले आज अर्थमन्त्रालयका प्रतिनिधि, उच्च राजनीतिक नेतृत्वलाई ल्याएर बार्षिकोत्सव मनाउँदैछ । तर, आजको कार्यक्रममा नियामक निकाय बीमा प्राधिकरणका उच्च नेतृत्वको भने उपस्थिति हुनेछैनन् । राजधानी बाहिर रहेकोले उपस्थित हुन नसकेका हुन् ।

२०२६ सालमा स्थापना भएपनि सुरुवातमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेको संस्थानले वि.सं. २०२९ साल फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गरी जीवन बीमा व्यवसाय सञ्चालन गर्ने पहिलो बीमा कम्पनी बनेको थियो । बीमालाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको संस्थानले सर्वसाधारणको जीवनमा आइपर्ने जोखिमलाई न्यून गरी गुणस्तरीय जीवनशैली प्रत्याभूत गर्न सफलता प्राप्त गरेको छ ।

बीमा संस्थानमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको संस्थापक शेयर स्वामित्व क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत र १६.६७ प्रतिशत रहेको छ । चालु आर्थिक बर्षको २०७९ पौष मसान्तसम्ममा संस्थानको बीमा कोष ४५ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । सरकारी कम्पनी तथा नेपालको पुरानो बीमा कम्पनी भएर पनि संस्थानको कूल बजार हिस्सा १० प्रतिशत भन्दा तल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*