सरकारी अनुदान हत्याउन सिमेन्ट उद्योगीको रोइ-कराई, माग सुनुवाई नभए बन्द गर्ने धम्की

काठमाडौं । क्लिङ्कर अभावको बहाना गर्दै कोशी प्रदेशका सिमेन्ट उद्योगहरुले सरकारसँग अनुदान माग्ने लबिङ सुरु गरेका छन् । कोशी प्रदेशमा सञ्चालित १३ वटा उद्योगले आफ्नै क्लिङकर नहुँदा सञ्चालन गर्न कठिनाई भएको बहाना गर्दै सरकारसँग अनुदान माग्ने नाटक रचेका हुन् ।
अरुबाट क्लिङकर खरिद गरेर उद्योग चलाउन नसक्ने अवस्था रहेकाले अब सरकारको अनुमतिमा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवं अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालक राजेन्द्र राउतले बताए ।
क्लिङकर नहुँदा ठूलो लगानीमा सञ्चालित उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । क्लिङकर आयात गरेर ग्रान्डिङ गर्दा लागत बढ्ने र प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेको अध्यक्ष राउते बीमापोष्टलाई बताए ।
क्लिङ्कर भएका उद्योगले महँगोमा क्लिङ्कर बेच्ने र ग्रान्डिङ सिमेन्ट सस्तोमा दिँदा त्यसको मार आफुहरुले खेप्नु परेको उनको तर्क छ । तर, देशभर २१ भन्दाबढी सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन गरेर धमाधम बेचिरहेका छन् । क्लिङ्कर पाएनौं, अभाव भयो भन्नू जस्तो मूर्खता अरु हुन नसक्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
उपभोक्ताको हक हित कहिल्यै नसोच्ने र जहिल्यै कालोबजारी, सिन्टेकेट तथा कार्टेलिङलाई साथ दिने यि उद्योगबारे वास्तविक जाँच नगरी सरकारले अभिभावकत्व लिन तथा संरक्षण गर्न नहुने अध्यक्ष महर्जनको भनाइ छ । यो सरकारसँग अनुदान कुम्ल्याएर उपभोक्ताको ढाड सेक्ने जुक्ति हो, उनले भने, ‘जुन उद्योगले आजका मितिसम्म आफ्नै क्लिङ्कर नहुँदा पनि चुइँक्क कुरा उठाएनन् तिनैले अहिले सरकारलाई ब्ल्याकमेल गर्नुको पछाडि कुनै न कुनै रहस्य छ, यसको जाँच अनिवार्य छ ।’
उनीहरुको रोइ कराईमा सरकार बहकिन नहुने महर्जनको धारणा छ । कुरै नबुझि सिमेन्ट उद्योगलाई अुनदान दिनु भनेको चिनी उद्योगीलाई दिएको अनुदान जस्तै हो, उनले अगाडि भने, ‘सरकारले बर्षौँ चिनी उद्योगलाई अनुदान दियो । तर, उखु किसानले कहिल्यै उखुको पूरा बक्यौता पाएनन् । अहिले उखु खेतिलाई मकैलगायतले झण्डै निमिट्यान्न पारिसकेको छ । र, भारतबाट आयात गरिएको चिनी उपभोक्ताले खान सकेका छैनन् ।’
के हो कुरा ?
धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुर सिमेन्टबाहेक १३ वटा उद्योगले अन्यत्रबाट क्लिङ्कर ल्याएर सिमेन्ट उत्पादन गर्न नसक्ने बताइँदै छ । त्यसरी बन्द हुने चरणमा पुगेका उद्योगमा मोरङमा चार, झापामा आठ, सुनसरीमा एक, उदयपुरमा एक र धनकुटामा एक उद्योग छन् । मोरङको अल्ट्राटेक र अन्नपूर्ण सिमेन्टको उत्पादन बन्द छ ।
सरकारले सिमेन्टको माग बढाउन पुँजीगत खर्च गर्ने हो भने अहिलेको उत्पादनले नथेग्ने अल्ट्राटेक सिमेन्टका सञ्चालक मनिष मारुले बताएका छन् । सरकारले पूँजीगत खर्च गर्न नसकिरहेका बेला आफ्नै क्लिङ्कर भएका उद्योगले गरेको उत्पादनले भ्याइरहेको भनी आफुहरुको मागमा ध्यान नदिएको उनको भनाइ छ । अब, पनि सरकारले माग सुनुवाई नगरे उद्योग बन्द गर्ने धम्की उद्योगीहरुले दिएका छन् ।
उद्योग साँच्चिकै क्लिङकर खरिद गर्ने अवस्थामा पुगेका हुन् वा के हो ? भन्नेबारे संघ, प्रदेश र स्थानीय स्तरबाट अनुगमन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अहिले अनुगमनका लागि प्रदेश अनुगमन समिति नै छ भने जिल्ला प्रशासन, घरेलु लगायतले पनि यद्योगको अनुगमन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
उद्योगको वास्तविक अवस्था थाहा नभई आफुहरुले समस्या के हो ? र उनीहरुले गर्न खोजेका के हुन् भन्नेबारे यकिनसाथ भन्न नसकिने मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताएका छन् ।











