करिब १८ लाख कित्ता अवितरित हकप्रद बेच्दै बलेफी हाइड्रो, सबैले किन्न पाउने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आउदो फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्ने भएको छ।
कम्पनीले यसअघि १ः१ को अनुपातमा हकप्रद निष्कासन गरेकोमा बाँकी बसेको शेयरहरू अहिले बेच्न लागेका हो। जसमध्ये संस्थापकतर्फको ६ लाख ७६ हजार १९१ कित्ता शेयर रहेको छ।
त्यस्तै सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र लक इनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर रहेको छ। लकइन आउदो चैत्र २९ गते सकिनेछ।
शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। शेयर किन्न आवेदन दिँदा कम्तीमा १०० कित्ता किन्नुपर्नेछ भने बढीमा १० ले निःशेष भाग जानेगरी सबै कित्ता किन्न सकिनेछ।
इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र त्यसको मूल्य समेत तोकि बोलपत्र आवेदन बुझाउनु पर्नेछ। यस्तो आवेदन फाराम एनआईएमबि एस क्यापिट लिमिटेडको काठमाडौं कार्यालय सहित पोखरा, बुटवल, वीरगंज र विराटनगरमा रहेको शाखा कार्यालयमा पाइनेछ।











