दुगड ग्रुपको स्वस्तिक आयलको व्यापार खस्कियो, ऋण तिर्ने क्षमता घट्यो

६ फाल्गुन २०८१, मंगलवार १६:२८

काठमाडौँ । केएल दुगड ग्रुपको स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिको व्यापार निरन्तर खस्किदै गएकोे रेटिङ क्रममा देखिएको छ । बजारमा ग्राहकले स्वस्तिक तेल रुचाउनै छोडेपछि व्यापारमा निरन्तर धक्का लाग्दै गएको तथ्याङले देखाएको छ ।

पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार कम्पनीको व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिन्छ । सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाखको व्यापार गरेको स्वस्तिक आयलले सन् २०२३ मा ७ अर्ब २ करोड ३० लाख रुपैयाँमा सीमित भएको थियो । सन् २०२४ सम्म आइपुग्दा कम्पनीको व्यापार थप खुम्चिँदै ६ अर्ब २३ करोड ३० लाख रुपैयाँमा पुगेको छ ।

सन् १९८४ डिसेम्बर ११ मा स्थापना भएको यो कम्पनीले नेपालमा बिराटनगर–०९, मोरङमा रहेको प्लान्टमा सोयाबिन, पामोलिन, सनफ्लावर तेल तथा वनस्पति घ्यू प्रशोधन गर्दै आएको छ । कुल १ लाख ३५ हजार मेट्रिक टन प्रति वर्षको प्रशोधन क्षमता भएको यस कम्पनीले तोरी तेलको लागि १० हजार टन क्षमतासहित उत्पादन गर्दै आएको छ । केएल दुगड समूहद्वारा प्रवद्र्धित यो कम्पनीले तीन दशकभन्दा लामो समयदेखि विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आएको भए पनि हाल आर्थिक चुनौतीको सामना गरिरहेको छ । खाद्य तेल उद्योगको कच्चा पदार्थको मूल्य अस्थिरता, विदेशी मुद्रा विनिमय जोखिम र मौसमी उत्पादन उतारचढावजस्ता चुनौतीहरूले सञ्चालनमा थप जटिलता थपेको छ ।

व्यापारमा गिरावटसँगै कम्पनीको नाफा पनि नकारात्मक बनेको छ । आर्थिक वर्ष २०२२ मा ५.८७ प्रतिशत रहेको ‘ब्याज, कर, मूल्यह्रास र अमूर्त सम्पत्तिको मूल्य घटाउनुअघिको आम्दानी’ (इबिट्डा) मार्जिन सन् २०२३ र २०२४ मा नकारात्मक भएको छ । यसले कम्पनीको सञ्चालन खर्च आम्दानीभन्दा बढी भएको र घाटामा गएको देखिएको छ ।

ऋण तिर्ने क्षमतामा पनि कम्पनी कमजोर देखिएको छ । सन् २०२२ मा चुक्ता ब्याज तिर्ने क्षमता (इन्ट्रेस्ट कवरेज रेसियो) ६.४७ गुणा रहेकोमा पछिल्ला दुई वर्षमा नकारात्मक बनेको छ । कम्पनीको समग्र ऋण स्थिति पनि अत्यन्तै कमजोर देखिएको छ । कुल ऋणको अनुपात (ओभरअल गियरिङ रेसियो) सन् २०२२ मा १.१९ गुणा रहेकोमा सन् २०२३ मा १८.५४ गुणासम्म पुगेको र सन् २०२४ मा नकारात्मक बनेको छ।

हालको अनुपात (करेन्ट रेसियो) पनि निराशाजनक देखिएको छ । सन् २०२२ मा १.०९ रहेको यो अनुपात सन् २०२३ मा ०.९१ र सन् २०२४ मा ०.८९ मा झरेको छ । यो अवस्थाले कम्पनीको छोटो अवधि भुक्तानी क्षमतामा कमी आएको देखिएको छ । लगातार आम्दानीमा गिरावट, नकारात्मक नाफा, ऋणभारको उच्च स्तर र कमजोर भुक्तानी क्षमताका कारण कम्पनीको भविष्य थप चुनौतीपूर्ण देखिन्छ ।

कम्पनीले ९ अर्ब १४ करोड ५५ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि इन्फोमेरिक्सबाट रेटिङ पाएको छ । १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन डबल बि माइनस र ३८ करोड अल्पकालीन कर्जाका लागि आइआरएन एफो रेटिङ पाएको छ । इन्फोमेरिक्स नेपालको मूल्याङ्कन अनुसार कम्पनीको वित्तीय अवस्था मध्यम जोखिमयुक्त देखिएको छ, जसले बैंक ऋणको भुक्तानीमा चुनौतीहरू हुन सक्ने सङ्केत गरेको छ । कम्पनीको विस्तृत वित्तीय विवरण र सुविधाहरूको जानकारी एनेक्सर १ मा समावेश गरिएको छ ।

कम्पनीको संचालन पूँजीमा आधारित व्यापारको प्रकृति छ । कम्पनीले विभिन्न परिष्कृत तेल र तरकारी घी को प्रशोधन गर्दै आयात गरेको कच्चा पदार्थ (खपतयोग्य कच्चा तेल र तोरीको बीउ) द्वारा व्यापार गर्दैछ । यी कच्चा पदार्थहरू नेदरल्याण्ड, सिंगापुर, स्विट्जरल्याण्ड, भारत, अस्ट्रेलिया, युएई, क्यानडा र मलेसिया जस्ता देशहरूबाट आयात गरिन्छ ।

त्यसैगरी, सन् २०२४ मा कम्पनीले प्राप्त गरेको क्रेडिट अवधि लगभग १ दिन थियो । कम्पनीको कुल संचालन चक्र सन् २०२४ मा १७६ दिन थियो, जुन सन् २०२३ मा १४२ दिन थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*