भोटेकोशी बाढीपछि अमेरिकाले नेपाललाई तत्काल मानवीय सहयोग गर्योः प्रवक्ता पिगट

न्युयोर्क । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अमेरिकाले तत्काल मानवीय सहयोगस्वरूप ५० लाख डलरभन्दा बढी सहायता उपलब्ध गराएको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले न्युयोर्कस्थित फरेन प्रेस सेन्टरमा पत्रकारसँगको कुराकानीमा आवश्यक परे थप सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको बताए । उनले बाढीबाट प्रभावित परिवारप्रति अमेरिकाको गहिरो सहानुभूति र ऐक्यबद्धता रहेको बताए ।
बाढीपछि उद्धार तथा राहतका लागि अमेरिकाले अगाडिबाट माटो हटाउने ठूला मेसिन र पहुँच कठिन क्षेत्रमा पुग्न विशेष यातायातका साधनसमेत उपलब्ध गराएको पिगटले जानकारी दिए । उनका अनुसार नेपालमा राहत तथा उद्धारका लागि अमेरिकी दूतावासले नेपाल सरकारसँग चौबीसै घण्टा समन्वय गरिरहेको छ ।
पिगटका अनुसार बाढीपछि नेपाल सरकारले सुरुवातमा खोज तथा उद्धारका लागि आफ्नो क्षमता पर्याप्त रहेको जानकारी अमेरिकालाई दिएको थियो । तर, उद्धार कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेपछि सरकारको आलोचना भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेझैँ नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिकी विदेश मन्त्रालय इच्छुक, सक्षम र तयार रहेको पिगटले बताए । नेपाल सरकारले आवश्यकताको पहिचान गर्दै जाँदा अमेरिकाले सहयोग जारी राख्ने उनको भनाइ छ ।
नेपाल र अमेरिकी सरकारबीच बलियो सञ्चार तथा समन्वय भइरहेको र त्यसबाट आवश्यक सहयोग पहिचान गर्न सहज भएको पनि पिगटले बताए । नेपालले उठाउँदै आएको जलवायु परिवर्तन र जलवायु न्यायको विषयमा भने उनले अमेरिकी सरकारको धारणा स्पष्ट गरेनन् ।
तस्बिरः फरेन प्रेस सेन्टर










