पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनको निर्णय तत्काल लागू नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
उक्त आदेशपछि पाण्डेलाई निलम्बन गर्ने नगर प्रमुख प्रशासकीय अधिकृतको निर्णय हाललाई रोकिन पुगेको छ। पाटन उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यथास्थितिमा राख्ने आदेश जारी गरेको हो।
नगर प्रहरी प्रमुख पाण्डेलाई गत जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले छ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेका थिए।
सो निर्णयअघि पाण्डेसँग लिखित स्पष्टीकरण मागिएको थियो। पाण्डेले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै निलम्बन गर्ने निर्णय लिइएको थियो। निलम्बनपछि पाण्डेले न्यायिक उपचार खोज्दै पाटन उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।