आईएमई पे र खल्ती एकै प्लेटफर्ममा: डिजिटल भुक्तानी बजारमा ऐतिहासिक मिलन

५ असार २०८२, बिहीबार १७:५९

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा क्षेत्रमा महत्वपूर्ण मोड आएको छ। नेपाल राष्ट्र बैंकले पहिलोपटक दुई ठूला भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्तीलाई एकीकरणका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। यो निर्णयसँगै नेपालमा डिजिटल वालेट क्षेत्रमा ठूला प्रतिस्पर्धी कम्पनीहरूबीचको विलयले नयाँ इतिहास रच्ने भएको छ।

नेपाल राष्ट्र बैंकबाट आवश्यक नियामक प्रक्रिया पूरा भएपछि यी दुई कम्पनी अब संयुक्तरूपमा एकीकृत कारोबार अघि बढाउनेछन्। एकीकृत कारोबारपछि कम्पनीको कानूनी नाम ‘आईएमई खल्ती लिमिटेड’ हुनेछ भने यसको मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ। तर, प्रयोगकर्ताहरूको सुविधाका लागि एपको नाम भने ‘खल्ती’ नै कायम रहनेछ।

यस अभूतपूर्व एकीकरणपछि खल्ती एप नेपालको सबैभन्दा ठूलो डिजिटल वालेटका रूपमा अगाडि आउनेछ। हाल करिब ५० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको खल्तीले ठूलो पूँजी, प्रविधि र पहुँच विस्तारका कारण ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्न सक्ने बताइएको छ। कम्पनीले एकीकृत कारोबारपछि नेपालको वित्तीय पहुँचलाई अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी तीन महिनासम्म प्रयोगकर्ता समायोजन प्रक्रिया तीव्र गतिमा अघि बढाइनेछ। यस अवधिमा आईएमई पे र खल्ती दुवै एप यथावत सञ्चालनमा रहने छन्। दुवै वालेटमा रहेका प्रयोगकर्ताहरूको मौज्दात रकम, रिवार्ड प्वाइन्ट तथा अन्य सेवा सुविधाहरू क्रमशः एकीकृत हुनेछन्।

खल्ती र आईएमई पेमा भएका ग्राहकहरू एकै ट्यापमा एपमा समाहित हुने व्यवस्था मिलाइनेछ। आईएमई पेमा मात्र रहेका प्रयोगकर्ताहरूले आफूखुसी स्वीकृति दिएपछि खल्ती एपमा स्थानान्तरण हुन सक्नेछन्। नयाँ ग्राहकहरूका लागि भने सीधै खल्ती एप डाउनलोड गरेर सेवा सुरु गर्न सकिनेछ।

आईएमई पेमा हालसम्म उपलब्ध सबै सुविधा तथा फिचरहरू खल्ती एपमा समाहित गरिने भएकाले कुनै सुविधा गुम्ने छैन। आईएमई पेमा भएका ब्यालेन्स तथा रिवार्ड प्वाइन्टहरू समेत सहज रूपमा खल्तीमा ट्रान्सफर गरिनेछन्। कम्पनीका अनुसार, यो प्रक्रिया प्रयोगकर्ताहरूका लागि सहज, सरल र सुरक्षित हुनेछ।

डिजिटल भुक्तानी प्रणाली विस्तारै नेपाली जनजीवनको अविभाज्य हिस्सा बन्दै गएको सन्दर्भमा यो एकीकरणलाई महत्वपूर्ण ‘कोशेढुंगा’ मानिएको छ। अब प्रयोगकर्ताहरूले खल्ती एपमार्फत घरबाटै विभिन्न सुविधा पाउनेछन्। रेमिटेन्स प्राप्ति, बैंक खाता खोल्ने, भिसा कार्ड प्राप्त गर्ने, बिल भुक्तानी गर्ने लगायतका सुविधा सजिलै उपलब्ध हुनेछन्। साथै, भविष्यमा खल्तीमार्फत साना ऋणदेखि अन्य वित्तीय सेवासम्म पहुँच विस्तार गरिने योजना बनाइएको छ।

नेपालको डिजिटल भुक्तानी बजारमा पछिल्लो समय बैंकिङ पहुँच नपुगेका क्षेत्रहरूमा समेत मोबाइल वालेटहरूले उल्लेख्य योगदान गरिरहेका छन्। खासगरी ग्रामीण तथा अर्धशहरी क्षेत्रमा पनि डिजिटल कारोबारको संस्कृति विकसित हुँदै गएको छ। यही प्रवृत्तिलाई दृष्टिगत गर्दै खल्तीले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा बलियोसँग विस्तार गर्ने लक्ष्य लिएको छ।

नेपालको डिजिटल वालेट बजारमा आईएमई पे र खल्ती दुवै कम्पनी सशक्त प्रतिस्पर्धीका रूपमा चिनिन्थे। आईएमई समूहको पृष्ठभूमिबाट सञ्चालित आईएमई पे र युवा प्रविधिकर्मीहरूको टोलीद्वारा स्थापना भएको खल्ती दुवैले आ-आफ्नो विशिष्ट पहिचान बनाएका थिए। अब यी दुई संस्थाको मिलनपछि सिर्जना हुने समन्वयले ग्राहकहरूलाई अझ समृद्ध सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*