बिना प्रक्रिया करोडौं खर्च, स्करपियो खरिद-बिक्रीमा अनियमितता: अदालत पुग्यो मुद्धा

५ असार २०८२, बिहीबार १८:४१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्तिमा हिनामिना गरी राज्यलाई आर्थिक नोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेको मुद्दामा परिषद्का तत्कालीन लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंह, सवारी चालक बिक्कीकुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव, कोषाध्यक्ष बवितादेवी साह, ठेकेदार जितेन्द्रकुमार यादव र बलराम ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर प्रतिवादी रहेका छन्।

बिना प्रक्रिया परिषद्को रकम खर्च गरेको र स्करपियो गाडी खरिद तथा बिक्रीमा अनियमितता गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा ५७ लाख ७१ हजार ८४४ रुपैयाँ हिनामिना भएको पुष्टि भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

मुद्दामा कार्यकारी निर्देशक ठाकुरसँग ५१ लाख ७१ हजार ८४४ रुपैयाँ, लेखापाल गिरीसँग ३० लाख ७२ हजार ८४४ रुपैयाँ, प्रशासकीय अधिकृत ढुंगानासँग १० लाख एक हजार ८७६ रुपैयाँ, कम्प्युटर अधिकृत सिंहसँग १४ लाख ९९ हजार रुपैयाँ बिगो माग गरिएको छ।

त्यसैगरी, उपभोक्ता समिति अध्यक्ष यादवसँग २० लाख ९९ हजार रुपैयाँ, कोषाध्यक्ष साहसँग २० लाख ९९ हजार रुपैयाँ, ठेकेदार जितेन्द्रकुमार यादवसँग दुई लाख रुपैयाँ र इन्दुलेखा कुमारी ठाकुरसँग ४५ लाख २२ हजार ८४५ रुपैयाँ बिगो माग गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*